अनौठो संकेत गर्दै डा. भट्टराईले भने: ‘सत्ता भन्दा सत्य बलवान हुन्छ’
काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्नु आग्रह गर्दै सत्ता भन्दा सत्य बलवान हुने बताएका छन् ।
उनकै पार्टीबाट केहि नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने लाइनमा लाग्दै गर्दा उनले अनौठो संकेत गर्दै उनले ओली सत्ताबाट छिट्टै हट्ने समेत बताए । भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुने दाबी गर्दै उनले प्रतीक्षा गर्न समेत आग्रह गरेका छन् ।
कर्णाली प्रदेशमा नेकपा एमाले का चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली राजनीति यतिवेला तरंगित बनेको छ । यसै सिलसिलामा डा. भट्टराईको यस्तो भनाई बाहिर आएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले मूल्य र मान्यताको राजनीतिलाई कानूनी भ्रमजालले छोप्ने दुष्प्रयास नगर्न समेत आग्र गरेका छन् ।
ट्विटरमार्फत नेता भट्टराईले लेखेका छन्, “गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं।कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं।सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं। भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं!”