डा. बाबुरामको रोगी मस्तिष्कका कारण १७ हजार नेपाली गुमाउनु परेको आरोप
काठमाडौं- शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई इसाई धर्मका प्रचारक र संक्रमित भएको बताएका छन् ।
हिन्दूत्व र राजसंस्थाका पक्षमा उभिएको शिव सेना नेपालका अध्यक्ष बस्नेतले हालै समता फाउन्डेसनले गरेको कार्यक्रममा भट्टराईले दिएको ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ, त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ भन्ने विचारप्रति टिप्पणी गर्दै वक्तव्य जारी गरेका छन् ।
सनातनदेखि जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्दै मिलेर बसेको समाजलाई बिग्रहमा पुराउने मध्येका भट्टराई नेतृत्वकर्ता भएको जनाउँदै बस्नेतले भनेका छन्,‘गोर्खामा विद्यालय पढ्दै इसाई मिसिनरीबाट संक्रमित एक बिरामी मस्तिष्कका कारण हामीले हाम्रा १७ हजार नेपाली दाजुभाई दिदीबहिनीलाई गुमाउन पुग्यौं । इतिहासले माफी दिन नसक्ने ती पात्र अरु कोही नभएर नेपालका पूर्वप्रधानमन्त्री विध्वंशका नायक बाबुराम भट्टराई नै हुन् ।’
नेपाल राष्ट्रले सम्मान दिएको व्यक्तिका विषयमा यस्ता उपमा दिइरहन रहर नभएको उल्लेख गरेका बस्नेतले भनेका छन्,‘उनको अभिव्यक्ति हामीले धेरै अघिदेखि नियालिरहेका छौं । उनी राष्ट्रिय पूँजीपतिहरूलाई शोषक हुन् भनेर घृणा फैल्याउँछन् । थारुहरुलाई अर्को जातिले हेपेको छ, आन्दोलन गर्नुस् भनेर उचाल्छन् । मधेसीलाई पहाडीविरुद्ध उचाल्छन् । अहिले दलितहरुलाई एउटा धर्मशेषविरुद्ध घृणा उत्पन्न हुने गरी बोलेका छन् ।’