गोरखामा एक्लिए बाबुराम: कांग्रेसले अब साथ् नदिने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

गोरखामा एक्लिए बाबुराम: कांग्रेसले अब साथ् नदिने



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका कार्यकर्ताले रुखमा मात्रै भोट हाल्ने बताएका छन्।

अघिल्लो निर्वाचनमा कांग्रेसको समेत सहयोगमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको सन्दर्भमा थापाले यसो भनेका हुन्।

कांग्रेस गोरखाको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भट्टराईप्रति लक्षित गर्दै यसो भनेका हुन।

केन्द्रमा बाबुराम अध्यक्ष रहेको जनता समाजवादीसहितको पाँच दलीय गठबन्धन रहेको अवस्थामा उनले अब कांग्रेसले कसैलाई नसघाउने पनि तर्क गरे।

‘२०७४ सालको चुनावमा एउटा राष्ट्रिय परिस्थिति हुँदा कम्युनिष्ट पार्टी मिलेका थिए। त्यसकारण तत्कालीन नयाँ शक्तिलाई समेट्नु पर्ने बाध्यता थियो’, थापाले भने,’तर अब गोरखाका नेपाली कांग्रेसका साथीहरुले यो पटक रुख चिन्हबाहेक अरु कुनैमा मत हाल्नु पर्ने छैन।’

२०७४ को चुनावमा बाबुरामले कांग्रेसको मतबाट जितेर कांग्रेसलाई नै धोका दिएको पनि थापाले बताए।

‘कांग्रेसको मतले जितेर गएको भोलिपल्ट हाम्रो पार्टीलाई संग्रहालयमा पुर्‍याइदिन्छौँ भनेको हामीले बिर्सेका छैनौँ’, उनले भने, ‘यो कुरा चाहेर पनि बिर्सिँदैनौँ।’

उनले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन टिकाएर जाने बताए। ‘यो गठबन्धन आउँदो चुनावसम्म राम्रोसँग टिकाउँछौँ। कांग्रेस सभापति नेतृत्वको सरकार शानदार रुपमा सफल बनाउँछौँ’, उनले भने, ‘संसदको अवरोधलाई हामी चिर्छौँ। संविधानलाई तलमाथि हुन दिँदैनौँ।’