ज्ञवालीलाई भट्टराईको व्यंग्य: बुरूक्क उफ्रिने र लम्पसार पर्नेको हालत यस्तै हुन्छ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ज्ञवालीलाई भट्टराईको व्यंग्य: बुरूक्क उफ्रिने र लम्पसार पर्नेको हालत यस्तै हुन्छ



काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारत भ्रमणबाट स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर फर्किएको टिप्पणी गरेका छन् ।

मन्त्री ज्ञवाली भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन् । ‘विदेशमन्त्री ज्ञवाली कुबेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’ ‘छलफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ,’ डा. भट्टराईले शनिबार साँझ एक ट्वीट सन्देशमार्फत् टिप्पणी गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनले आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने बताए ।