बाबुराम जी ! अप्ठ्यारो र लाज नमानी माओवादी पार्टीमा फर्कनुस : प्रचण्ड - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

बाबुराम जी ! अप्ठ्यारो र लाज नमानी माओवादी पार्टीमा फर्कनुस : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मालसामान छाडेर एक्लै कुद्नुभएको धारणा व्यक्त गर्नुभएको छ ।

नयाँशक्ति नेपालका प्रवक्ता तथा नेता खिमलाल देवकोटालाई माओवादी पार्टीमा प्रवेश गराउँदै प्रचण्डले भन्नुभयो, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन ।’

उहाँले नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई अप्ठ्यारो र लाज नमानी माओवादी पार्टीमा फर्किन आव्हान गर्नुभयो ।

‘बाबुरामजी आफ्नै साथी हुन्, अहिले कता हो कता जानुभएको छ । तर, उहाँका लागि यही ठाउँ राम्रो हो,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाईलाई माया गर्ने कार्यकर्ता यही छन्, उहाँलाई पुनर्मिलनमा आउन आह्वान गर्छु ।’

ज्ञान र बुद्धि बिना संसार अगाडि बढ्न नसक्ने बताउँदै प्रचण्डले बिगार्न पनि बुद्धिजीवीले नै भूमिका खेल्ने कुरा माक्र्सवादमा उल्लेख भएको बताउनुभयो ।

माओवादी पार्टीमा हुँदा बाबुराम भट्टराईलाई आफूले पटक–पटक कित्ता स्पष्ट पार्न आग्रह गर्ने गरेको प्रचण्डले सम्झिनुभयो ।

‘इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ अध्यक्ष प्रचण्डले सम्झिनुभयो, ‘उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।’

देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच अहिले ठूलो ध्रुवीकरण भइरहेको बताउँदै प्रचण्डले समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन आव्हान गर्नुभयो ।

‘हामी जननीतिवाला हो, जनताको आदेश विपरित जाने गल्ती नगर्नुहोला,’ प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा तर्क गर्न आएन, के भनौ के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो ।’

नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटा नयाँशक्ति पार्टी परित्याग गरेर आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धलाई आधिकारिक वैधानिकता प्रदान गर्न र जनयुद्धका उपलब्धिलाई संस्थागत गर्न देवकोटाले भूमिका खेल्नुभएको बताउनुभयो ।

बाबुराम भट्टराईसँगै पार्टी परित्याग गरेर नयाँशक्तिमा प्रवेश गरेर देवेन्द्र पौडेल यसअघि नै माओवादी केन्द्रमा फर्किसक्नुभएको छ । चुनावअघि नै माओवादीमा फर्किएका पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।