आयुक्तले रुँदै भनेः दुई जना प्रहरी पनि सरकारले लग्यो !
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासमा आइतबार राति बम विस्फोट भएको छ ।
गृहमन्त्रालयले भीआईपीको घरमा खटिएका सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका थिए । प्रहरी सुरक्षा हटाइएलगत्तै गत शुक्रबार दुईजना अपरिचित व्यक्ति ‘आयुक्तज्यू हुनुहुन्छ ? हामी अन्तर्वार्ताका लागि आएका हौं,’ भन्दै यादवको निवासमा पुगेका थिए । आफूलाई एउटा नाम चलेको अनलाइनका पत्रकार हौं भन्ने व्यक्ति केहीबेर घर वरिपरि डुलेर फर्किएका थिए ।
त्यसको दुई दिनपछि यादवको निवासमा बम विष्फोट भयो । बिष्फोटबाट मानवीय क्षति नभए पनि पर्खाल भत्किएको छ भने झ्यालका शिशाहरु फुटेका छन् । बम विष्फोटनलगत्तै सुरक्षाकर्मी पुग्दा मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए ।
उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताए । उनको सुरक्षाका लागि दुई जना प्रहरी खटाइएको थियो ।
बम विष्फोटपछि यादवको परिवारमा त्रास थपिएको छ । छिमेकीलेसमेत आफूहरु असुरक्षित भएको बताएका छन् ।
संवैधानिक अंगका प्रमुखको सुरक्षा आफैंमा संवेदनशील रहेको र भर्खरैमात्र मुलुकमा सबै तहका निर्वाचन सम्पन्न गराउने क्रममा कतिपय व्यक्ति र शक्तिको धम्की खेपिरहेका कारण यादवको निवासबाट सुरक्षाकर्मी हटाइनु सरकारको कमजोरी रहेको उच्च सुरक्षा अधिकारीले बताए । हिजोबाटै यादवको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।