एभिन्युजविरुद्ध काउन्सिलले लियो ‘एक्सन’
काठमाडौँ – प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ ।
उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो ।
एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जबाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।
समाजवादी पार्टी नेपालले सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीले एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो ।
अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवम् अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवम् पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
सो पार्टीले पत्रकारिताको आचरणविपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवम् मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपील समेत गरेको छ ।