५० कारोड लागतमा एभिन्यु होटेल बुटवलमा सञ्चालन
बुटवल । बुटवलमा ५० करोड लगानीमा होटेल एभिन्यू प्रालि सञ्चालनमा आएको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटेल एभिन्यू खुलेको हो ।
यो होटेल बुटवलकै पहिलो विजनेस होटेलका रूपमा स्थापित भएको सञ्चालकको दाबी छ । चारवर्ष अघि निर्माण सुरु भई हालै सम्पन्न भएको पाँचतले होटेलमा ४५ वटा लक्जरी रुम रहेको अध्यक्ष भीमलाल न्यौपानेले बताए ।
होटेलमा सात सय जना क्षमताको कन्फरेन्स हलसहित बाल्कोनीसहितका लक्जरी रुम, बिजनेस स्वीट, हनिमुन स्वीट, डिलक्स, सुपर डिलक्स र कर्पोरेट रुम रहेका न्यौपानेले बताए ।
होटेल एभिन्यूले दुई सय कार पार्क गर्न मिल्ने गरी तीन कठ््ठा जग्गामा पार्किङ स्थल बनाएको हाेटलका सल्लाहकार केशव पन्थिले जानकारी दिए ।
लुम्बिनी आउने पर्यटकलाई समेत लक्षित गरी होटेलमा लगानी गरेको सञ्चालक न्यौपानेले बताए । होटेलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक सरस्वती न्यौपानेले बताइन् ।होटलको भोलि उद्घाटन गर्ने कार्यक्रम छ ।
रुपन्देहीमा साना, मझौला र ठुला गरी दुई हजार बढी होटलहरु सञ्चालनमा रहेका छन् । यहाँ एक दिनमा पाँच हजार पाहुनालाई राख्न सकिने होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुन्द्र जीसीले बताए ।