अटो रिक्साको दादागिरि : मनपरी भाडा अशुली - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अटो रिक्साको दादागिरि : मनपरी भाडा अशुली



‘बिना लाईसेन्स दौडिन्छन् पुनर्वास–बेलौरीमा अटो रिक्सा’

रञ्जित लामा / पुनर्वास,कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास–बेलौरीमा यतिखेर लाईसेन्स बिनैै अटो रिक्सा चलाउनेको संख्या बढ्दै गएको छ ।
डोकेबजारबाट पुनर्वास–बेलौरीको बिभिन्न स्थानहरुमा अटो तथा ई–रिक्साले बिना लाईसेन्स यात्रु बोकेर कुद्दा समेत ट्राफिक प्रहरीले कारबाही नगर्दा यिनीहरुको संख्या दिन–प्रतिदिन बढ्दै गएको हो ।

अटो तथा ई–रिक्साको लाईसेन्स मात्र हैन गाडीको नम्बर समेत नभएको भएपनि ती सवारी साधनहरु ट्राफिक प्रहरी कै सामू निर्वाध रुपमा चल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
पछिल्लो समय यातायातका साधनका लागि पुनर्वास र बेलौरी बजारहरुमा चल्ने लाइसेन्स नभएका अटो तथा ई–रिक्सा चालकका कारण दुर्घटनामा बृद्धि भइरहेपनि ट्राफिक प्रहरीले कुनै चासो नदिएको जनगुनासो बढ्दै गएको छ ।

तर डोकेबजारदेखि पुनर्वासमा गुड्ने अधिकांश रिक्सा चालकसँग अनुमती पत्र छैन । पुनर्वास चोकमा यात्रु कुरिरहेका एकजना चालक भन्छन् ‘धेरैले बिना लाईसन्स दौडाउँछन् र धेरै मध्यमा म पनि एक हुँ । उनी थप्छन, ‘बेकारको झञ्झट के गरिराख्नु ?, खासै चेक पनि हुँदैन । समाति हाल्यो भने लाइसेन्सको प्रकृयामा छु, भनिहाल्छु, त्यसपछि त ढुक्क ।’

सेती–महाकाली यातायात प्रा.लि.का अध्यक्ष प्रकाश बोगटीका अनुसार पुनर्वास क्षेत्रमा गुड्ने अटो रिक्साको संख्या १ सय भन्दा माथि पुगिसकेको छ । सामान्य भनसुन र प्रहरीको फितलो निगरानीका कारण लाइसेन्स बिनै गाडी हुइकाउँन पाउँने भएपछि अटो तथा ई–रिक्साको संख्या अझ बिकराल तरिकाले बृद्धि हुने एक जना अटो ब्यबसायले नै बताए ।

मनपरी भाडा अशुली अटो रिक्साको दादागिरि
कञ्चनपुरको डोकेबजारबाट पुनर्वासका लागि चल्ने अटो रिक्साको दादागिरी र मनोमानी बढ्दै गएको छ ।आफुखुशी मूल्य अशुलेर अटो रिक्साले आफ्नो दादागिरी र मनोमानी बढाउँदै गएको हो ।

पुनर्वासको बिभिन्न स्थानहरुमा अटो रिक्साले मनलाग्दी भाडा असुल गर्दा स्थानीय यात्रुहरु मारमा परेका छन् ।
भाडा कार्यान्वयनमा सकृय हुनुपर्ने निकाय निष्कृय बनेपछि अटो व्यवसायीहरुले सर्वसाधारणहरुलाई ब्रम्हलुट गरिरहेको स्थानीयको आरोप छ ।

पुनर्वासमा चल्ने अटो रिक्साको भाडामा देखिएको मनोमानी र लूटतन्त्रलाई न प्रशासनले न नगरपालिकाले न त ट्राफिक प्रशासनले नै चाँसो नदिएको पीडित यात्रुहरुको गुनासो छ । यसरी सरोकारवालाहरुले नै चासो नदिएकाले उनीहरुमा झन् यात्रुबाट मनोमानी भाडा अशुल्ने प्रवृत्ति बढ्दै गएको उनीहरुले बताए ।

अटो रिक्साको लोकप्रियता
कञ्चनपुरको डोकेबजारदेखि पुनर्वास–बेलौरीका बिभिन्न स्थानहरु आज भोलि सवारी साधनले भरीभराउ देखिन थालेका छन् । तीमध्ये सबैभन्दा बढि अटो रिक्साहरुले नै पुनर्वास–बेलौरीका बिभिन्न स्थानहरु भरीभराउ भएका छन् । पुनर्वास, बेलौरी क्षेत्रबाट धनगढी आउने सर्वसाधारणका लागि पहिलो रोजाईँ बनेका छन् यस्ता सवारीहरु । कारण, जाहाँ भन्यो त्यहिँ पु¥याउने, खोजेको बेला पाईने र ठेलमठेल यात्रा गर्नु नपर्ने । अटो र ई–रिक्सा आएदेखि बजार आऊ–जाऊ गर्न सजिलो भएको पुनर्वासदेखि रिक्सा चढेर डोकेबजार हिँडेकी सुनिता चौधरी बताउछिन् । उनी भन्छिन्, ‘पहिले बजार आउन जान घण्टौँ बस कुर्नुपथ्र्याे, अहिले निकै सजिलो छ ।’

चालक अनुमती–पत्र अनिबार्य
सर्बसाधारणका लागि प्रिय बनेको अटो रिक्सा चलाउन पनि अरु सवारी जस्तै प्रावधान पु¥याउनुपर्छ । सवारी दर्ता र चालकले अनुमती पत्र लिएर मात्रै अटो रिक्सा चलाउन पाउने नियम छ ।

ट्याम्पो र अटो, ई–रिक्सालाई एउटै दर्जा दिएर यातायात ब्यवस्था कार्यालयले फारम खुलाएर ‘सि’ क्यटगोरीको चालक अनुमती पत्र बितरण गर्ने गरेको यातायात ब्यवस्था कार्यालय कञ्चनपुरका चालक अनुमती पत्र फाँटका शाखा अधिकृत केशबदत्त जोशीले जानकारी दिए । “जस्ले जति नै ब्यबहारिकताका कुरा गरेपनि लाइसेन्स बिना अटो रिक्सा चलाउन पाउँदैन” उनले भने “यातायात ब्यबस्था कार्यालयले समय मिलाएर लाइसेन्स बितरण गर्छ; लाइसेन्स लिएर मात्र चलाउँनोस्”

गाउँघरमा ब्यबहारिकता हेर्नुपर्छ : ट्राफिक प्रहरी
सवारी चालक अनुमती पत्र भए नभएको जाँच गर्ने ट्राफिक प्रहरीले भने अनुमती पत्र नभएका चालकहरुलाई ब्यबहारिकता हेर्नु पर्ने बताए ।

बिना अनुमती पत्र अटो र ई–रिक्सा चलाउने गरेको स्वीकार गर्दै ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीका प्रहरी सहायक निरीक्षक खडक बम भन्छन्, ‘हामीले गाउँघर भएकोले ब्यबहारिकता हेरेका छौं । सरकारले पनि भनेको बेलामा चालक अनुमति–पत्र दिएको छैन, नियमसंगत कसिकसाउ गरेर जाँदा अटो ब्यबसायीहरु आक्रोशित भएर निहूँ खोज्न सक्छन् ।’

तर यता नागरिक समाजले बिना लाइसेन्सको चालकले दुर्घटना निम्त्याउँने भन्दै चिन्ता ब्यक्त गरेका छन् । नागरिकको जीऊधनको गम्भीरतालाई ऐन कानून मिचेर ब्यबहारिकताको रङ्ग नदिन ट्राफिक प्रहरीलाई उनीहरुले अनुरोध समेत गरेका छन् ।

भद्रगोल बजार र बढ्दो दुर्घटना
अटो रिक्साको अब्यबस्थित पार्किङ र बढ्दै गएको चापले कञ्चनपुरको डोकेबजार र पुनर्वासमा दिनप्रतिदिन ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको छ ।

डोकेबजार र धनगढी जोड्ने मुख्य सडक र पुनर्वासको आई.बी.आर.डी.को सडकमा अटोरिक्साहरु जथाभाबी पार्किङ गर्दा ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको हो । साँघुरो सडक, अब्यबस्थित ट्राफिक ब्यबस्था र अटोरिक्साको चाप दिन–प्रतिदिन बढ्न थालेपछि अहिले कञ्चनपुरको पुनर्वास डोकेबजार, कैलालीको धनगढी र गौरीफण्टा नाका जाने मुख्य सडकखण्ड दुर्घटनाग्रष्त बन्दै गएको छ ।

गत पौष २ गते राती पुनर्वास–डोकेबजार सडक खण्ड (पचगडिया प्रहरी चौकीदेखि करिब डेढसय मिटर नजिक) पुनर्वास नगरपालिका–११ का २९ वर्षीय भीमसिंह ठकुरीलाई चालक अनुमति–पत्र बिहीन पेट्रोल रिक्सा चालकले ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको थियो । भने अहिलेसम्म अटोरिक्साबाट गम्भीर दुर्घटना बाहेकका सामान्य दुर्घटना भएका घटनाहरुको कुनै लेखा जोखा नै नभएको स्थानीयको आरोप छ । ट्राफिक प्रहरीले ब्यबहारिकताको खोल ओडेर नागरिकको जीउधनलाई बेवास्ता नगर्न नहुने नागरिक समाजले यतिखेर चिन्तासमेत ब्यक्त गरेका छन् ।फाइल तस्बिर :