माफ गर्नुहोस, भाँडा माझ्न म अस्ट्रेलिया जान्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

माफ गर्नुहोस, भाँडा माझ्न म अस्ट्रेलिया जान्न



विरेन्द्र खनाल

अस्ट्रेलिया जाने खुबी नभएर यस्तो लेख्यो भने पनि भन्नुस् । वास्तविकता पनि त्यही नै हो मैले अस्ट्रेलिया जाने ल्याकत राख्‍न सकिनँ र सक्दिनँ पनि। नेपालमा श्रमिक र मालिकको दूरी निकै भेगिलो छ। श्रमको सम्मान नहुनु, मालिकले मालिके सोच र व्यवहार परिवर्तन गर्न नसक्नु, श्रमिकले श्रमककै मूल्य बुझ्न नसक्नु यी कारणहरू मात्र पर्याप्त हुँदैनन् वैदेशिक यात्राको लागि।

एउटा यस्तो पुस्ताको बिजारोपण भैरहेको छ कि उनीहरू नेपाललाई नेपाल सम्झिँदैनन्। उनीहरूको आफ्नै रटान छ, नेपालमा के छर ? नेपालमा के हुन्छ ?

म मान्दछु हामी आज पनि सगरमाथाको देश, बुद्ध जन्मेको देश, जलस्रोतमा विश्वकै दोश्रो धनी देश भनेर गफ हान्दै यहाँ सम्म आइपुगेका छौँ। हाम्रो शिक्षा प्रणाली आधुनिक र बैज्ञानिक हुन सकेन। हामीले अर्थतन्त्रमा आधारित कृषि प्रणाली अवलम्बन गर्न नसकेकै हो। उद्योगमा लगानी भित्र्याउन नसकेकै हो। रोजगारीका अवसरहरू फस्ट्याउन नसकेकै हो। यहाँ बाटोमा मकै पोलेर दिन गुजार्ने आमाहरूका नाङ्लाहरू फ्याँकिएकै हो। अठारउन्नाईस घण्टा लोडसेडिङको मार खप्दा मैनबत्तीमा उज्यालो खोजेको। त्यो समय कहाँ बिर्सिन सकियोस ! कुलमान घिसिङ आएपछि लोडसेडिङ चैट भएको आँखै अगाडि देखेर फेरि अर्को आशाको दियो बल्यो- प्रत्येक क्षेत्रमा एकदिन कुलमानहरू आउनेछन्। सुध्रिनेछ मुलुक।

ट्रेनमा कार्ड स्वाइप गरेर भाडा तिरेको अनुभव त छैन तर नेपाल यातायातमा कोचिएर थिचिएर मिचिएर नक्कली आइडी कार्डको भरमा पन्ध्र रुपैयाँ तिर्ने ठाउमा दश रुपैयाँ तिरेका कैयौँ अनुभव छन्। किन किन आजभोलि खाली गाडीमा यात्रा गर्दा र सहजै सिट पाउँदा त्यति आनन्द लाग्दैन जति थिचिनुमा मिचिनुमा आनन्द आउँथ्यो। बानेश्वरमा ठेलामा राखेको ममको स्वादले कैयौँ पटक सिङ्काको ममको स्वादलाई ओझेलमा पारेको छ। जाम, धुलो, भएन भने त यात्रा नै फिक्का लाग्छ। अहिले पनि एउटा आशाको त्यान्द्रो जीवित छ। एकदिन सफा हुनेछ, त्यही दिनको पर्खाइमा छु। यति स्वच्छ हुनेछ कि धुलोलाई पनि लज्जाबोध होस्।

मेरा धेरै साथीहरू विदेश छन् विदेश छन् भन्नाले नेपालमा छैनन्। ती मध्ये केही साथीहरू खाडी मुलुकमा छन् । केही साथी अस्ट्रेलिया, अमेरिकातिर पनि छन्। उनीहरूले समुद्रको किनारमा खिचेको तस्बिर देखेपछि मलाई पनि रानी पोखरीको छेउमै पुगेर तस्बिर खिची पोस्ट्याउन मन थियो । बिडम्बना रानी पोखरीको अझै पुनःनिर्माण सकिएन। म त्यही आशामा छु जुन दिन सकिनेछ त्यही दिन पुगेर फोटो खिचिदिनेछु अनि पोस्ट्याउनेछु।

एक दिन चियापसलमा साथीले सुनायो दुइटी श्रीमतीलाई डिभोर्स दिएको गाउँले दाजु जो अस्ट्रेलियाको पिआर होल्डर हो, भर्खर बी.एन. सकेकी बाईस वर्षेलाई मागी बिहे गरेछ। झसङ्ग भएँ, फोटो हेरौँ त भनेको काकाभतिजी जस्ता देखिन्थे। वित्थामा चित्त दुख्यो। अर्को साथीले थप्यो- हामी त अविवाहित नै मरिने भैयो केटा हो। एक छिन बहस भयो। क्या पावरफुल छन् पिआरेहरू…….

देशबाहिर दु:ख छ, सुख त यहीँ छ- सरकारलाई गाली गऱ्यो, कर्मचारीलाई गाली गऱ्यो, बाउआमा थर्कायो। खाना खाइदिए पुग्यो, हात चुठिदिए पुग्यो। अरे विदेशमा त्यस्तो कहाँ पाउनु ? जसले बीस लाख तिरेर चालीस लाख बैँक ब्यालेन्स देखाएर विदेश पुग्छ उसले चाहिँ अभाव भोक, दु:ख भो अहो ! कति सुहाएन। गोजीमा कौडी नहुने म जस्ताहरूलाई कसैले बीस लाख होइन दुई हजार निकाल भन्यो भने पनि आँखै अगाडि तोरीको फूल देखिन्छ । न ऋनको तनाव न दिनको तनाव । कसम हाइसुख छ भन्या।

यति लेख्दै गर्दा नकारात्मक मान्छे बकबक गऱ्यो भन्ठान्नु भा होला। माफ गर्नुहोला बीस लाख तिरेर म भाडा मस्काउन जान सकिनँ। बरु बीस रुपियाँ मागेर बाउआमाले खाएका जुठा थाल धस्काउँछु।