अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्याले उब्जाएका प्रश्न ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्याले उब्जाएका प्रश्न ?



अस्ट्रेलिया । गएको एक महिनाभित्र दुई विद्यार्थीले आत्महत्या गरेपछि अस्ट्रेलियामा रहेको नेपाली समाज झसंग भयो । उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीमा आएको यस्तो विचलन, मानसिक तनाव र नैराश्यताका पाटाको खोजी गर्न थालिएको छ, यतिबेला अस्ट्रेलियामा ।

सपनाको मुलुक हो, अस्ट्रेलिया । गर्न सक्नेलाई धेरै अवसर छन् । तर, ती अवसर पहिल्याउन भने धैर्यता, आँट र सहनशीलता चाहिन्छ । चाँडै कमाइहालौँ भन्ने हतारो गर्ने र त्यो सपना वा इच्छा पूरा नहुँदा गलत परिणाम पनि निस्किरहेका छन् । विशेष गरेर उच्च अध्ययनका लागि आकर्षकको मुलुक बनेको अस्ट्रेलिया हानिएका विद्यार्थीमा धैर्यता, सहनशीलता र अठोटको कमी देखिएको छ ।

नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीले नेपाल रहँदा महिनामा यति कमाइन्छ भनेर देखेको सपना अस्ट्रेलिया आउनासाथ पूरा नहुँदा उनीहरूमा विचलन आएको देखिन्छ । यी र अन्य थप कारण विद्यार्थी आत्महत्यासम्म पुगेको अवस्था छ ।

उच्च अध्ययनका लागि बाबुको साथ र आमाको काख छाडेर अस्ट्रेलिया हानिएका कर्णधारमा विभिन्न कारणले विचलन आउनु र ज्यानसम्म फाल्नु यतिबेला अस्ट्रेलियामा चिन्ताको विषय बन्न पुगेको छ । विशेष गरेर विद्यार्थीलाई आत्महत्यासम्मको अवस्थामा पुर्‍याउनुमा पारिवारिक कारण मूल देखिएको छ । अध्ययन गर्न आएका विद्यार्थीमा पढ्न आउँदा लागेको खर्च उठाउनुपर्ने र नेपालबाट पैसा पठाउन बारम्बार ताकेता आउनु पनि उनीहरूका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । यता आएर विशुद्ध रूपमा अध्ययन मात्र गर्ने विद्यार्थीको संख्या निकै कमी छ । पढ्न आएको विद्यार्थीको कलिलो दिमागमा चौतर्फी दबाब नै उनीहरूका लागि गलत कारण बनिरहेको छ । परिवारमा सुखसयल र रमाइलो गरेर जीवन बिताइरहेका विद्यार्थीमा यता आएपछि ठूलै जिम्मेवारी काँधमा पर्न जान्छ । कमाएर बाँच्नुपर्ने, कलेजको फी तिर्नुपर्ने र परिबारबाट बारम्बार पैसा पठाउन दबाब आइरहने जस्ता कुराले त्यो कलिलो दिमागमा असर परेको देखिन्छ । यस्ता कुरालाई सहज रूपले नलिईकन तनावको रूपमा पनि विद्यार्थीले लिने गरेका छन् । विद्यार्थीबीचको भलाकुसारीमा धेरै सुनिन्छ- टेन्सन नै टेन्सन छ, कमाई छैन, तर घरबाट पैसा पठा भनेर किचकिच गर्छन् ।

आत्महत्याका कारण

एकपछि अर्को नेपाली विद्यार्थीले आत्महत्या गर्न थालेपछि अस्ट्रेलियाको नेपाली समाज यसबारे चनाखो हुन थालेको छ । विद्यार्थीमा ऊर्जा र उत्साह जगाउने सोचको विकास गर्न सक्नुपर्छ, योग, ध्यान जस्ता सामूहिक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई एक्लै नभएको महसुस दिलाउन सकियो भने पनि विद्यार्थीमा देखापर्ने मानसिक तनाव वा विचलनलाई थोरै भए पनि कमी गर्न सकिने कुरा लामो समयदेखि अस्ट्रेलियामा नेपालीलाई योग सिकाउँदै आएका भीमसेन सापकोटा बताउँछन् ।

विद्यार्थी भएर अस्ट्रेलिया आएका र अहिले स्थापित भइसकेका विकास उप्रेतीको भनाइमा भने विद्यार्थीमा धैर्य नहुनु र चाँडै लाखौँ कमाउने गलत सपना देख्नु पनि ठूलो समस्या हो । उनी भन्छन्, ‘बारम्बार नेपालबाट पैसाका लागि दबाब आइरहँदा पनि विद्यार्थीमा विचलन आउँछ ।’

आत्महत्याका कारण निम्न देखिन्छन्-
– पारिवारिक विछोड 
– पारिवारिक तनाव 
– ऋणको भारी 
– खराब संगत 
– खर्चिलो बानी 
– पैसाका लागि नसुती काम गर्ने 
– बढी महत्त्वाकांक्षा 
– मानसिक तनाव

अभिभावकको गलत सोच

उच्च अध्ययनका लागि आफ्ना सन्तान अस्ट्रेलियाको एअरपोर्टमा र्झन पाएका हुँदैनन्, यहाँ रूखमा पैसा फल्ने र सन्तानले त्यही टिपेर पठाउनेजस्तो गरी पैसा पठाइ हाल है बाबु वा नानी भन्ने दबाब दिन थाल्छन् । त्यहाँबाट सुरु भएको मानसिक तनावले अन्ततः गलत परिणाम निस्किरहेको छ । कम अभिभावक मात्र यस्ता भेटिएका छन् कि जसलाई सन्तानको कमाई होइन शिक्षाको चिन्ता छ ।

अधिकांशलाई सन्तानले कति पठाउला कहिले पठाउला भन्ने चिन्ता छ । तर सन्तानको अवस्थाको चिन्ता देखिँदैन । केही गरी अस्ट्रेलियन सरकारले विद्यार्थीले काम गर्न नपाउने नियम बनायो भने के तपाईंहरू आफ्ना सन्तानलाई अस्ट्रेलिया पठाउनुहुन्थ्यो ? सायद धेरैले पठाउँदैनथे । त्यसैले पहिला सन्तानलाई खुला दिमागले पढ्न दिनुहोस्, कमाई नहुने होइन तर दबाब नदिनुस्, तपाईंहरूको दबाब, तनाव अनि किचकिचका कारण कलिलो दिमागमा गलत असर परिरहेको छ । यस्तो कुरामा सचेत नहुँदा भोलि न सन्तानले धन पठाउँछ न त सन्तान नै फर्केर आउँछ । सन्तान नै नरहे धनको के अर्थ ?अनलाईन खबरको सहयोगमा