इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा
एजेन्सी – साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार लर्डसमा ६२ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । यो हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ३७ ओभरको अन्तिम बलमा मिचेल स्टार्कले बोल्ड आउट गर्नु अघि उनले १ सय १५ बलमा ८ चौका र २ छक्का प्रहर गरे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।
इंग्ल्यान्डले सुरुवात देखीनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको दोस्रो बलमै जेसन बेहरनडर्फले ओपनर जेम्स भिन्सलाई शुन्यमा बोल्ड आउट गरे । चौथो ओभरको तेस्रो बलमा मिचेल स्टार्कले जो रुटलाई ८ रनमा एलबी डब्लू आउट गरे । छैटौं ओभरको पाँचौ बलमा स्टार्कले कप्तान इओन मोर्गनलाई ४ रनमा प्याटकमिन्सबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड २६-३ को कमजोर अवस्थामा पुगेको थियो ।
जोनी बेयरस्टोले ३९ बलमा ५ चौका सहित २७ रन जोडे । बेयरस्टोलाई बेहरनडर्फलेनै प्याट कमिन्सबाट १४ ओभरको पाँचौ बलमा क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोकले ७१ साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ उकासे । तर मार्कस स्टोइनिसले २८ ओभरको दोस्रो बलमा उस्मान खवाजाबाट २५ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । तल्लोक्रमका आदिल राशिदले २० बलमा ३ चौका र १ छक्का सहित २५, क्रिस वोक्स २६,मोइन अली ६ र जोफ्रा आर्चरले १ रन जोडे ।
अष्ट्रेलियाको जितमा नायक बनेका जेनस बेहरनडर्फले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै मिचेल स्टार्कले पनि ८.४ ओभरमा १ मेडन सहित ४३ रन खर्चिदै ४ विकेट हात पारे ।मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।
त्यसअघि लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो ।
जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै कुल १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका थिए । लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा फिन्च क्रिस वोक्सबाट क्याच आउट हुन पुगे । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकासँगको खेलमा पनि उत्कृष्ट शतक प्रहार गरेका थिए ।
ओपनर डेविड वार्नर र आरोन फिन्चले २२।४ ओभरमा १ सय २३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोइन अलीले जो रुटबाट वार्नरलाई ५३ रनमा क्याच आउट गराउँदै तोडे । वार्नरले ६१ बलमा ६ चौका प्रहार गरे ।
बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा उस्मान खवाजालाई २३ रनमा बोल्ड आउट गरे । ३९ ओभरको दोस्रो बलमा मार्क उडले कट निकाल्दै विकेटकीपर जस बटलरबाट ग्लेन म्याक्सवेललाई १२ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो । ४२ ओभरको पाँचौ बलमा स्टिभ स्मिथसँग दुइ रन लिनेक्रममा तालमेल गर्न नसक्दा मार्कस स्टोइनसि ८ रनमा रन आउट भए ।
स्टिभ स्मिथ पनि ठूलो शट खेल्ने धुनमा ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । विकेटकीपर एलेक्स केरीले २७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । प्याट कमिन्स १ र मिचेल स्टार्कले ४ रन जोडे ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे । जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीको नाममा समान १ विकेट रह्यो ।
यो जितसँगै अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ ।