अष्ट्रेलिया भर्सेज पाकिस्तान : यी हुन् 'गेम चेन्जर' ४ खेलाडी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अष्ट्रेलिया भर्सेज पाकिस्तान : यी हुन् ‘गेम चेन्जर’ ४ खेलाडी



एजेन्सी – जारी  विश्वकप क्रिकेट प्रतियोगितामा आज बुधबार दुई दावेदार अष्ट्रेलिया र पाकिस्तानबीच रोमाञ्चक खेल हुँदै छ । यी दुई टोलीबीच हेद टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।

हालसम्म यी दुई देशबीच कुल १ सय ३ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ६७ खेलमा विजयी हुँदा ३२ खेलमा पराजित भएको छ । एक खेल बराबरीमा रोकिदा ३ खेलको नतिजा विहीन छ । आजको खलमा पाकिस्तान र अष्ट्रेलियाबीच प्रभाव पार्नसक्ने खेलाडी :

स्टिभ स्मिथ (अष्ट्रेलिया)

पूर्वकप्तान स्टिभ स्मिथ अष्ट्रेलियाका प्रमुख ब्याट्सम्यान हुन् । गत मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्पिरिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथ यसै विश्कप मार्फत अष्ट्रेलिया टोलीमा पुनरागमन गरेका हुन् । एक वर्ष प्रतिबन्धका कारण धेरैले उनलाई पहिला जस्तो जस्तो प्रर्दशन गर्न नसक्ने हुन् की भन्ने शंका पनि व्यक्त गरेका थिए । तर स्मिथले आफ्नो लयलाई निरन्तरता दिदै उत्कृष्ट प्रर्दशन गरेका छन् ।

पहिलो खेलमा अफगानिस्तानसँग १८ रनमा आउट भएका स्मिथ वेस्ट इन्डिजसँगको खेलमा ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । आफ्नो लयलाई निरन्तरता दिएका स्मिथले भारतसँग पनि ६९ रन जोडेका थिए । जस्तो सुकै दबाबमा पनि रन जोड्न माहिर स्मिथ ठूलो इनिङ खेल्दै विशाल योगफल बनाउन सक्ने क्षमता राख्छन् । सन् २०१५ को विश्वकप अष्ट्रेलिया जित्दा स्मिथको प्रर्दशन महत्त्वपूर्ण रहेको थियो । टोलीको आवश्यकता अनुसार धैर्य र आक्रमक दुवै शैलीमा खेल्ने स्मिथ आजको खेलमा पनि नायक बन्न सक्छन् ।

बाबर आजम (पाकिस्तान)

पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजम टी ट्वान्टी क्रिकेटका नम्बर वान ब्याट्सम्यान हुन् । वान डे क्रिकेटमा पनि त्यतिकै उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । तेस्रो नम्बरमा ब्याटिङ गर्ने बाबर पाकिस्तान क्रिकेटमा सर्वाधिक भरपर्दा ब्याट्सम्यान समेत हुन् । छोटो समयमै विश्वक्रिकेटमा राम्रो छाप छाडेका बाबरको वान डे क्रिकेट करियरमा ५१.३४ को औसतमा रन जोडेका छन् ।

यस विश्वकपमा अफगानिस्तानसँग २२ रन बटुल्दा इंग्ल्यान्डविरुद्ध ६३ रन जोडेका थिए । बाबर ठूलो इनिङ खेल्न सक्छन् । बाबरको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बिशाल योगफल बनाउन सक्छ । बाबरको उत्कृष्ट प्रर्दशन विना पाकिस्तानलाई आजको खेलमा जित निकाल्न कठिन समेत पर्ने देखिन्छ ।

मिचेल स्टार्क (अष्ट्रेलिया)

तीव्र गतिका बलर मिचेल स्टार्कले आफ्नो गति र योर्करमा विश्वका जुनसुकै ब्याट्सम्यानलाई निराश बनाउन सक्छन् । सर्वाधिक छिटो एक सय तथा १ सय ५० विकेट लिने कीर्तिमान कायम गरेका स्टार्कले मात्र ७८ वान डे खेलमा १ सय ५२ विकेट लिई सकेका छन् ।

विश्वकपअन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा पनि उनले ५ विकेट लिदै अष्ट्रेलियाको जित पक्का गरेका थिए । त्यसैले आजको खेलमा स्टार्कको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । पावर प्ले र डेथ ओभरमा उनको बलमा रन जोड्न विपक्षी ब्याट्सम्यानलाई कठिन हुने गर्दछ ।

मोहम्मद आमिर (पाकिस्तान)

खराब लयका कारण आमिर पाकिस्तानको पहिलो रोजाईमा विश्वकप टोलीमा पर्न सकेनन् । तर इंग्ल्यान्डसँग पाँच वान डे सिरिजमा पाकिस्तानको खराब प्रर्दशनका कारण विश्वकपको लागि पाकिस्तानले ३ खेलाडी परिवर्तन गर्दा आमिरले टोलीमा मौका पाए । जुन सहि सावित भएको छ । आमिर लयमा फर्किएका छन् ।

डेथ ओभर र पावर प्लेमा उत्कृष्ट प्रर्दशन गर्ने आमिरले वेस्ट इन्डिजसँगको खेलमा ३ र इंग्ल्यान्डसँग २ विकेट लिएका थिए । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउँदै पाकिस्तानलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेका आमिर बललाई स्विङ गराउन माहिर छन् । आमिर अष्ट्रेलियाका लागि आज घातक बन्न सक्छन् ।