अस्ट्रेलिया र इङ्ग्ल्याण्ड- कडा प्रतिस्पर्धा देखि खेल रोकिनेसम्म - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्ट्रेलिया र इङ्ग्ल्याण्ड- कडा प्रतिस्पर्धा देखि खेल रोकिनेसम्म



काठमाडौं – पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको इङ्ग्ल्याण्ड र चार पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा बिहीवार भिड्दै छन्।

इङ्ग्ल्याण्डले २७ वर्ष यता विश्वकप क्रिकेटको नकआउट खेल जित्न सकेको छैन।

अस्ट्रेलियाले भने पछिल्ला पाँचमध्ये चार विश्वकपको उपाधि उचालेको छ।

बुधवार भएको रोमाञ्चक सेमिफाइनलमा भारतलाई हराउँदै न्यूजील्याण्ड विश्वकपको फाइनलमा पुगिसकेको छ।

बिहीबारको खेलमा अस्ट्रेलियाले जिते यसपटकको विश्वकप क्रिकेटको फाइनल पनि सन् २०१५ कै फाइनल जस्तै हुनेछ जतिखेर यिनै दुई टोलीको फाइनलमा जम्काभेट भएको थियो।

आत्मविश्वास
इङ्ग्ल्याण्डका कप्तान ओएन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताए।

उनले भने, “पछिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको एकदमै नजिक थियौँ। त्यही भएर एकदमै उत्साहित छौँ।”

एक नम्बर टोलीका रूपमा विश्वकप यात्रा सुरू गरेको इङ्ग्ल्याण्ड लिग चरणमा लर्डस मैदानमा अस्ट्रेलियासँग पराजित भएपछि प्रतियोगिताबाट झण्डै बाहिरिने अवस्थामा पुगेको थियो। सो खेलमा अस्ट्रेलियाले उसलाई ६४ रनले हराएको थियो।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बाउन्सरका मद्दतले त्यस खेलमा मोर्गनलाई आउट बनाएका थिए।

त्यसपछि इङ्ल्याण्डका पूर्व ब्याट्सम्यान केभिन पिटरसनले मोर्गन डराएको जस्तो देखिएको भन्दै ट्वीट गरेका थिए।

तर त्यसको एक दिनपछि उनले आफूले मोर्गनलाई शंकाको लाभ दिने भन्दै आफू गलत वा सही जे पनि हुन सक्ने उल्लेख गरेका थिए।

इङ्ग्ल्याण्डका कप्तानले तीन खेल अघिको भन्दा अहिलेको आफ्नो टोली फरक र बढ्ता आत्मविश्वासी रहेको उल्लेख गरेका छन्।

अन्तिम चारमा आफ्नो स्थान सुरक्षित बनाउन इङ्ग्ल्याण्डले बुधवारको सेमिफाइनलमा भिडेका न्यूजिल्याण्ड र भारत दुवैलाई हराएको थियो।

सामना
पहिलो चरणको अधिकांश समय आफ्नो समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले, शनिबार दक्षिण अफ्रिकाबाट पराजित हुनुअघिसम्म, पहिलो सेमिफाइनल खेल खेल्ने ठानिएको थियो।

तर अब उनीहरूले सबै प्रकृतिका गरि इङ्ग्लयाण्डले लगातार १० खेल जितेको एजबास्टन मैदानमा घरेलु टोलीको सामना गर्नुपर्नेछ।

सन् १९९९ को विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको थियो।
उक्त मैदानमा अस्ट्रेलियाले सन् १९९९ यता कुनै पनि एकदिवसीय खेल जितेको छैन।

सर्वाधिक चर्चित दक्षिण अफ्रिका विरूद्धको सन् १९९९ को विश्वकप सेमिफाइनल खेलमा त्यहाँ अस्ट्रेलियाले बराबरी खेलेको थियो।

अस्ट्रेलियाली टोलीका कप्तान एरोन फिन्चले उक्त मैदानको वातावरण राम्रो भएको र त्यहाँ खेल्न सधैँ राम्रो लाग्ने गरेको बताएका छन्।

बिहीवारको खेलमा अस्ट्रेलियाले सन मार्सको सट्टा पहिलोपटक प्रतियोगितामा पिटर ह्यान्ड्सकोम्बले खेल्न लागेको जनाएको छ।

इङ्ग्लयाण्डको टोलीमा कुनै परिवर्तन नहुने ठानिएको छ, जसको अर्थ चार तीव्र गतिका बलरमध्ये लियाम प्लंकेट पनि टोलीमा हुनेछन् तर अफ स्पीनर मोइन अली खेल्ने छैनन्।

मौसम कस्तो होला?

यसपालीको विश्वकप क्रिकेटका केही खेल मौसमकै कारण प्रभावित रहे।

पहिलो सेमिफाइनल खेल पनि सुरुको दिन करिब आधा सकिएपछि पानी परेका कारण बाँकी दोस्रो दिन खेलाइनु परेको थियो।

बीबीसी वेदरका बिल्ली पेनका अनुसार बिहीवार अधिकांश समय खेलस्थानमा बदलीको स्थिति रहने देखिन्छ।

बिहान र अपरान्ह हल्का वर्षा हुन सक्ने तर त्यसबीचमा बेला बेला घाम लाग्न सक्ने र उज्यालो हुनसक्ने अवस्था देखिएको उनले जनाएका छन्। बीबीसी