अष्ट्रेलिया शीर्षस्थानमा : बंगलादेशको बिजोग - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अष्ट्रेलिया शीर्षस्थानमा : बंगलादेशको बिजोग



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार बंगलादेशलाई ४८ रनको पराजित गर्दै इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रनमात्रै बनाउन सक्यो ।

बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले शतक पुरा गरे पनि टोलीको हार टार्न सकेनन् । मिचेल स्टार्कको ४९ ओभरको अन्तिम बलमा १ रन बटुल्दै विश्वकपमा आफ्ना्े पहिलो शतक पुरा गरेका थिए । ९५ बलमा वान डे करियरको सातौं शतक पुरा गरेका रहिम ९७ बलमा ९ चौका र १ छक्का सहित १ सय २ रनमा अविजित रहेपनि टोलीको जितको लागि प्राप्त हुन सकेन ।

त्यस्तै महमुदूल्लाहले आक्रमक ब्याटिङ गर्दै ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनमा क्याच आउट भए । महमुदूल्लाह र मुश्फिकुरले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै हारको अन्तर हटाएका थिए । बंगलादेशले ओपनर सौम्य सरकारलाई १० रनमा गुमाएको थियो । १९ ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डेविड वार्नरबाट क्याच गराउँदै सकिब अल हसनलाई ४१ बलमा ४ चौका सहित ४१ रनमा खेलि रहेको अवस्थामा पेभिलिएन फर्काए ।

मिचेल स्टार्कले २५ औं ओभरको पहिलो बलमा ओपनर तामिम इकवाललाई ६२ रनमा बोल्ड आउट गरे । उनले ७४ बलमा ६ चौका प्रहार गरे । शब्बिर रहमान डक र मेहदी हसन मिराज ६ रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइलले,मिचेल स्टार्क,मार्कस स्टोइनिसले समान २ विकेट हात पारे । एडम जम्पाको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । सौम्य सरकारको ४५ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।

वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका थिए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको खेलमा पनि वार्नरले शतक प्रहार गरेका थिए । उनको सम्रग विश्वकपमा भने तेस्रो शतक पर्दछ ।

उस्मान खवाजाले पनि उत्कृष्ट प्रर्दशन गर्दै ८९ रनको योगदान दिए । ४७ ओभरको पाँचौ बलमा सरकारलेनै विकेटकीपर मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि उनले ७२ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि डेविड वार्नर र उस्मान खवाजाले १ सय ९२ रनको साझेदारी गर्दै ठूलो योगफल सम्म पुर्याए ।

पहिलो विकेटका लागि ओपनर वार्नर र कप्तान आरोन फिन्चले १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । २१ ओभरको पाँचौ बलमा सौम्य सरकारले रुवेल हसनबाट क्याच आउट गराउनु अघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का सहित ५३ रन जोडे ।

यस्तै तल्लोक्रममा ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा रन आउट भए । स्टिभ स्मिथ १ रनमा आउट भए । मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले ८ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानको नाममा १ विकेट रह्यो ।

योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ ।