अस्ट्रेलियाले लज्जास्पद हार बेहोर्नुका ३ कारण - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अस्ट्रेलियाले लज्जास्पद हार बेहोर्नुका ३ कारण



एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप २०१९ को सेमिफाइनलबाटै घर फर्किएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुँदै बाहिरिनु परेको हो ।

इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्दा अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित हुँदै बाहिरिनु पर्यो ।अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गरेको थियो । उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्ने छन् ।

पाँच पटकको च्याम्पियन अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित हुँदै विश्वकपबाट बाहिरिनुका तीन कारण यस प्रकार छन् :

१. गैरजिम्मेवार म्याक्सवेल र मध्यक्रम

एक समय १४-३ को खराब अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टिभ स्मिथ र विकेटकीपर एलेक्स केरिले चौथो विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी गर्दै इनिङ उकास्दै बलियो योगफल सम्म पुग्न सक्ने संकेत देखाएका थिए । तर आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै जेम्श भिन्सबाट केरि ४६ रनमा क्याच आउट हुन पुगे । अष्ट्रेलियालाई बलियो योगफल सम्म पुग्न अर्को यस्तै ठूलो साझेदारीको आवश्यक थियो । तर त्यो जिम्मेवारी कुनै पनि ब्याट्सम्यानले निभाउन सकेनन् ।

केरि आउट भएको चार बलपछि मार्कस स्टोइनिस शुन्यमा एलबी डब्लू आउट भए । स्मिथले एक तर्फबाट रन बटुलीरहँदा अर्कोतर्फ विकेट गुमिरह्यो । ठूलो आसा गरिएका ग्लेन म्याक्सवेल जोफ्रा आर्चरको ३५ ओभरको पाँचौ बाउन्सर बलमा गैरजिम्मेवार सट खेल्दै २२ रनमा क्याच आउट भए । म्याक्सवेल आउट भएसँगै अष्ट्रेलियाको ठूलो योगफलको सम्भावना सकिएको थियो ।

३८ औं ओभरमा प्याट कमिन्स पनि गलट सट खेल्दै ६ रनमा आउट भए । केरि बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले स्मिथलाई राम्रो साथ दिन सकेनन् । जसको कारण अष्ट्रेलिया सस्तैमा समेटिन पुग्यो । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन अष्ट्रेलियाको हारको एक कारण हो ।

२. इंग्ल्यान्डको उत्कृष्ट सुरुवात

सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डका ओपनर जोसन रोय र जोनी बेयरस्टोले उत्कृष्ट सुरुवात दिलाए । १७.२ ओभरसम्म पहिलो विकेटका लागि रोय र बेयरस्टोले १ सय २४ रनको शतकीय साझेदारी गर्दै सहज जित पक्का गरे । सामान्य लक्ष्यमा पनि जित आत्मसात गर्न अष्ट्रेलियालाई पहिलो पावर प्लेमा कम्तिमा सुरुवाती ब्याट्सम्यानलाई आउट गर्न सक्नुपथ्र्यो । जसको दबाबमा मध्यक्रम धरासय बनाउँदै झिनो जित हात पार्न सक्थ्यो ।

सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डले पहिलो विकेटकै लागि उत्कृष्ट शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाको हार पक्का बनेको थियो । उत्कृष्ट सुरुवातकै कारण जो रुट र कप्तान इओन मोर्गन पनि खुलेर खेल्दै ३३ ओभरमै जित पक्का गरे ।

३. खराब सुरुवात

ब्याटिङ उपयोगि मानिएको बर्मिङघममा मैदानमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि धेरैले ठूलो योगफल बनाउन सक्ने आँकलन गरेका थिए । तर अष्ट्रेलियाको सुरुवात नै खराब रह्यो । ओपनर तथा कप्तान आरोन फिन्चलाई दोस्रो ओभरको पहिलो बलमै जोफ्रा आर्चरले शुन्यमा एलवी डब्लू आउट गरे ।

फिन्च आउट भएपछि डेविड वार्नरमाथि ठूलो आसा गरिएको थियो । तर वार्नर क्रिस वोक्सको तेस्रो ओभरको चौथो बलमा दबाबमा गलत सट खेल्दै विकेटकीपर जोनी बेयरस्टोबाट ९ रनमा क्याच आउट हुन पुगे । पिटर हेन्डस्कम्बलाई सातौ ओभरको पहिलो बलमा वोक्सले ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४-३ को कमजोर अवस्थामा पुगेको थियो ।

सुरुवाती दबाबकै कारण अष्ट्रेलियन ब्याट्सम्यान कुनै पनि समय खुलेर खेल्न सकेनन् । स्मिथले एक तर्फबाट रनको लागि निरन्तर संघर्ष गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा अष्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिनु पर्यो । अष्ट्रेलियाको प्रमुख हारको कारण पनि खराब सुरुवात हो ।