श्रावन १ गतेदेखि एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्‍क लाग्‍ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

श्रावन १ गतेदेखि एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्‍क लाग्‍ने



काठमाडौं- भोलि श्रावन १ गते बिहीबारदेखि एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो।

साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्ने एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए। उनले भने, ‘यसअघि कोभिड १९ र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए, यसमा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा रहँदैन’

कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ। कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ।

बैंकहरु आबद्ध नेटवर्कअनुसार शुल्क फरक फरक हुने गरेको छ। सामान्यतः बैंकहरुले २० देखि २५ रुपैयाँसम्म यस्तो शुल्क लिने गरेका छन्।

बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मा आवद्ध छन्। केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा पनि छन्।