काठमाडौंका घरधनीले २५ हजारसम्म कर छुट पाउने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

काठमाडौंका घरधनीले २५ हजारसम्म कर छुट पाउने



काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरधनीहरुले २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। घरधनीहरूले बहाल करमा २५ हजारसम्म छूट पाउने भएका हुन् ।

काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको हो। यस्तो छुट लिनका लागि आवासीय प्रयोजनका लागि घर बहालमा लगाएको हुनुपर्नेछ ।

बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने घोषणा गरेका हुन्। महानगरको नवौं नगर अधिवेशनमा उनले यस्तो घोषणा गरे ।

घरधनीले बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम छुट दिने बताइएको छ । नीतिमा भनिएको छ, ‘बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ।’

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।