एक दिनमै पटक-पटक कुरा फेर्दै वामदेव: फेरि गरे नयाँ पार्टीमा जाने घोषणा
काठमाडौं- हिजोमात्रै माधव नेपालको समुहमा नरहेको घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू माधव समूहको नयाँ आर्तीमा प्रवेश गर्ने बताएका छन् । उनले नेपालले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने घोषणा गरेका हुन् । एक टेलिभिजनसँग दिएको अन्तर्वार्तामा उनले यस्तो घोषणा गरेका हुन्।
आइतबार दिउसो सचिवालयमार्फत विज्ञप्ति नै जारी गरेर एमालेमै रहेको घोषणा गरेका गौतमले उही दिन बेलुका कुरा फेरेका छन् । कुराकानीको क्रममा उनले भनेका छन्,‘केपी ओलीको जालझेल, षड्यनत्र, दम्भ र अहमताको कारणले नेकपा (एमाले) फुट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन् । उहाँले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्नुहुन्न ।’
उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भैसकेको र निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्नेबित्तिकै प्रवेश गर्ने पनि जनाए ।उनले भनेका छन्,‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’
सरकारमा जाने बार्गेनिङ गरेको चर्चा चलिरहेका बेला उनले माधव नेपालको पार्टीमा गएपनि सरकारमा भने नजाने बताए । ‘म कुनैपनि हालतमा मन्त्री बन्दिन् । शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको सरकारमा म उपप्रधानमन्त्री र मन्त्री बन्दैछु भनेर समाचार आएका छन्, यसमा कुनै सत्यता छैन् । म कुनैपनि हालतमा मन्त्री बन्दिन्’ उनले भनेका छन्।
उनले माधव नेपालको पार्टीमा प्रवेश गरेपछि आफूले पार्टी एकताको लागि जिम्मेवारी लिने पनि जानकारी दिए । ‘हामी आउने चुनावमा एमाले र माओवादीसँग चुनावी गठबन्धन गर्छौं ।’ उनले नेकपा (माओवादी केन्द्र) सँग एकता हुनै नसक्ने ठोकुवा गरे । उनले भने, ‘हामी प्रचण्डजीको पार्टीसँग गठबन्धनसम्म गर्छौँ, एकीकरण गर्दैनौं ।’ गौतमले आगामी निर्वाचनमा केपी ओली, प्रचण्ड र माधव नेपालबीच चुनावी कार्यगत एकता हुने बताए ।
आफू राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने पक्षमा नभएको पनि गौतमको भनाई छ । ‘केपी ओलीसँग मिलेर विद्याजीलाई राष्ट्रपति बनाउने कुरामा मेरो पनि भूमिका थियो, तर त्यो मेरो गल्ती थियो । अब राष्ट्रपतिमाथि महाभियोग लगाएर अर्को गल्ती म गर्न चाहँदिन्, गौतमले भने ।
उनले केपी ओलीको सरकारको कार्यकालमा राष्ट्रपति भण्डारीले सही भूमिका निर्वाह गर्न नसकेको कुरा यथार्थ र सत्य भएको सुनाए । उनले भने,‘अहिले शेरबहादुर देउवाको सरकार आउँदा उहाँको भूमिका सन्तोषजनक छ, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दा पनि उहाँले अध्ययन र प्रक्रियामा गएर मात्रै जारी गर्नुभयो । जबकी केपी ओलीको पालामा भने उहाँले तुरुन्तै जारी गर्नुभएको थियो । म राष्ट्रपतिमाथि महाअभियोग लगाउने पक्षमा छैन् ।’