मुख्यमन्त्री पाएपछि नेपाललाई छाडेर ओलीतिर लागिन अष्टलक्ष्मी
काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अन्तिम समयमा आएर वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेकी छन् । पार्टी अध्यक्ष ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने उनै शाक्य अन्तिम समयमा आएर मुख्यमन्त्री पाएपछि ओली समूहमै फर्केकी छन्।
नेतृ शाक्य माधव नेपाल समुहमा लामो समय रहँदा ओलीको कट्टर आलोचक थिइन् । पार्टी विभाजन गर्न माधव नेपाललाई उक्साउने मध्यकी एक मानिने शाक्य अन्तिम समयमा नेपाललाई ढोका दिएकी छन् ।
नयाँ दल दर्ता गर्ने प्रक्रियामा सामेल नभएकी शाक्यलाई आजै वागमती प्रदेशको एमाले संसदीय दलको नेता बनाइएको छ ।सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।ओलीसँग वागमतीको मुख्यमन्त्री पद पाउने सहमति भएपछि शाक्यले अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेकी छन् ।
शाक्यसँगै योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम रावल, भीम आचार्यलगायतका आधा दर्जन स्थायी कमिटी सदस्य अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेका छन् ।