अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद पुरस्कारमा दिएका हौँ: डोरमणि पौडेल - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद पुरस्कारमा दिएका हौँ: डोरमणि पौडेल



हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पुरस्कारस्वरूप मुख्यमन्त्री पद दिएको बताएका छन् । उनले पार्टी एकताको पक्षमा उभिएकाले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको बताए।

दलको नेताबाट राजिनामा दिएका पौडेलले हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले परिस्थिति सधैं एउटै नहुने भएकाले आफूले पार्टी एकताका लागि त्याग गरेको बताए।

माधव नेपाललाई छाडेपछि उपहारमा मुख्यमन्त्री पद दिएको चर्चा चलिरहेका बेला पौडेलले भने पुरस्कार दिएको बताएका छन् । उनले आफूले पनि एकताका लागि त्याग गरेको बताएका छन् ।

‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं।’

पौडेलकै प्रस्तावमा शाक्य प्रदेशसभा संसदीय दलको नेतामा आजै सर्वसम्मत चयन भएकी छिन् । पौडेलका अनुसार शाक्य आजै मुख्यमन्त्री नियुक्त भएर सपथ लिँदै छिन्।

पौडेलले आफ्नो साढे ३ वर्षे कार्यकालमा अत्यन्तै राम्रो गर्न नसके पनि नराम्रो नगरेको बताए। ‘म पूर्णरुपमा सन्तुष्ट छु, मैले धेरै राम्रो गर्न सकिन होला’, उनले भने, ‘नराम्रो एउटा पनि गरेको छैन।’