अस्पतालमा छटपटाईरहेकी महिलालाई सेनाका दुई जवानले रक्तदान गरी मृत्युको मुखबाट बचाए
दार्चुला । रगतको अभावमा जिल्ला अस्पतालमा छटपटाईरहेकी एक महिलालाई सेनाका दुई जवानले रक्तदान गरी मृत्युको मुखबाट बचाएका छन् ।
दार्चुला जिल्ला महाकाली नगरपालिका–८ धौकोट बस्ने २९ वर्षीय मानमति रैखोलालाई दुर्गादल गुल्म दार्चुलाका जवान खिम बहादुर घर्तीमगर र गोकर्ण सिंह गोयलाले २ पाउण्ड रगत दिएर जीवन बचाएका हुन् ।
दुई दिनअघि रैखोलाको पेटमा रहेको बच्चा खेर गएपछि अत्याधिक रक्तस्राव भएको थियो । अत्याधिक रक्तस्राव हुन थालेपछि घरका अन्य सदस्यले मानमतिलाई जिल्ला अस्पताल दार्चुला ल्याएका थिए ।
जिल्ला अस्पतालमा ‘ए पोजेटिभ’ रगत नभेटिएपछि सेनालाई गुहार्दा घर्तीमगर र गोयाला अस्पताल पुगि उनलाई रगत दान गरेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति गणेश रावलले जानकारी दिए ।
स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने भावनाको विकास नहुँदा रगत अभावमा सधैँ समस्या पर्ने गरेको अस्पतालका निमित्त डा. धर्मानन्द जोशीले बताए ।
जिल्ला अस्पतालमा ब्लड बैंक भएपनि रगतको अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा रगत नहुँदा कतिपय बिरामीले रगत नपाएर मृत्यु रोज्नुपरेको छ भने रगत अभाव भएका बिरामीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रक्तदान गरेर ज्यान बचाउने गरेका छन् ।