हिन्दू धर्मको नारा नेताहरूको भोट बैंक मात्र बनिरहेको छ : अस्मिता भण्डारी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

हिन्दू धर्मको नारा नेताहरूको भोट बैंक मात्र बनिरहेको छ : अस्मिता भण्डारी



मंसिर २५ गते विश्व हिन्दू महासंघको १०औं महाधिवेशन सकिएको छ । सो महाधिवेशनबाट मैले विश्व हिन्दू महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी छु । तर, महिधिवेशनबाट निर्वाचन हुन सकेन । जसले गर्दा मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी हुँ । अब मेरो काँधमा कुसलतापूर्वक नयाँ नेतृत्वका लागि निर्वाचन गराउने जिम्मेवारी प्राप्त भएको छ । अब हामी हाम्रा सबै च्याप्टरसँग सल्लाह गरेर अनुकुल समय पारेर महाधिवेशनमा जाने छौं ।

विश्व हिन्दू महासंघ कुनै राजनीतिक पार्टी होइन । हामी कुनै राजनीतिक दलमा आवद्ध छैनौं । त्यसैले यो संस्थामा राजनीति हुनु हुँदैन थियो । तर, दुर्भाग्य पूर्वक यहाँ राजनीति हुन पुग्यो । तर, महाधिवेशनको दिनको दृश्य हेर्दा कुनै राजनीतिक दलको भन्दा खत्तम अवस्था देखियो । हिन्दू धर्मका अनुयायीहरूमा त्यो हुनु राम्रो होइन । र, हुनु पनि हुँदैन । यहाँ आफूलाई धार्मिक व्यक्तित्व भन्नेहरूका गतिविधि कतैबाट गाइडेड हुनकी भन्ने देखियो । जुन निकै दुखद्पूर्ण रह्यो । यो हिन्दूले गरेको नभई हिन्दूका नाममा फाइदा दिनेहरूले घटाएको घटना हो । हाम्रा विदेशी पाहुनामाथि भएको हातपात दिन्दनीय छ । विश्व हिन्दू महासंघको स्थापना नेपाललाई हिन्दू राज्यको केन्द्र बनाउने उदेश्यका साथ भएको हो । यो योगी नरहरी नाथ र स्वर्गिय राजा विरेन्द्रको महान योगदानबाट स्थापना भएको हो । यसको विभिन्न देशमा शाखा छ ।

यो संस्थालाई टुक्र्याउने गतिविधि हुनु निकै दुखद् कुरा हो । हामी सबै हिन्दू धर्ममा आस्था राख्नेहरू एक ठाउँमा उभिएर मात्रै आफ्नो लक्ष्यमा पुग्नसक्छौं । यो संस्था कमजोर भयो भने मात्रै विश्वभरका हिन्दूहरूको मनोबल कमजोर पार्न सकिन्छ भन्ने उदेश्यका साथ चलखेल भइरहेको छ । हामी ती कुरालाई पराजित गर्न सफल भएका छौं । म यस संस्थालाई हिन्दू धर्मावलम्बीहरूको सर्वोच्च संस्थाका रुपमा अगाडि लिएर बढ्न पनि आग्रह गर्न चाहन्छु । हाम्रा कुनै विमती भए हामी मिलेर जानुपर्छ । तर, हामीले हिन्दू राज्य हुनुपर्छ भनेर आवाज उठाउँदै गर्दा त्यो उदेश्य पूर्तिका लागि काम नगर्ने कुरा गलत छ । यसमा राजनीतिक दलहरू पनि दोषि छन् । राजनीतिक दलहरूले भोट लिने बेलामा हिन्दू राज्यको कुरा चर्को स्वरमा उठाउनु हुन्छ । तर, सत्तामा पुगेपछि त्यो कुरा ओझेलमा पर्छ । कांग्रेस बामपन्थी सबै दलमा हिन्दू राज्यको कुरा गर्ने नेताहरू भए पनि उहाँले सम्बन्धित ठाउँमा आवाज उठाउने गरेको पाइदैन । यसले जनताको मन बहकायर आफूतर्फ जनमत मात्रै बटुल्न खोजेजस्तो देखिन्छ । जुन सरासर गलत छ ।

जनगणना हेर्दा मात्रै हामी बहुसंख्यक हिन्दूहरू बस्छौं । तर, हाम्रा अवाज दविएका छन् । यसको कारण भनेको अदृश्य शक्तिहरूको चलखेर र उनीहरू नै शक्तिशाली हुनु हो । केही दस्तावेज प्रकाशित भएका छन् । २०१८ मा अमेरिकाको विदेश मन्त्रालयले एक दस्तावेज प्रकाशित गरेको थियो । त्यसका नेपाल र भारतमा माइन्युरिटीमा भएका धार्मिक संघ संस्थालाई हिन्दूवादीले अतिक्रमण गरे भन्ने गलत दस्तावेज आएको छ । यी भनेका हिन्दूधर्ममाथिको प्रहार हो । अहिलेको जनगणनाका प्रश्नहरू मात्रै हेर्ने हो भने पनि सुनियोजित रुपमा व्यवस्थित ढंगबाट हिन्दू धर्ममाथि प्रहार भइरहेको छ । त्यसलाई सिस्टमेटिकल्ली नै प्रहार गर्ने प्रयास भएको छ । अहिले धर्मनिरपेक्षको आडमा धर्मान्तरण बढेको छ । धर्म निरपेक्षको अर्थ धर्मान्तरण गर्नु भन्ने होइन । धर्मान्तरणको आडमा अहिलेको जनगणना भएको छ । यस्ता गतिविधि महासंघ एक्लैले मात्र रोक्न सक्दैन । यसका लागि राज्यले गर्नुपर्ने कुरा धेरै छन् ।

जुन देशमा धेरै जनसंख्या ओमकार परिवार छ । त्यो ओमकार परिवारको समृद्धिका लागि राज्यसँग के व्यवस्था छ? के योजना छ? म प्रश्न गर्न चाहन्छु । हाम्रा मठमन्दीर, बौद्ध बिहार, चैत्यहरू वेवारिसे अवस्थामा छन् । अन्य धर्मावलम्बी व्यवस्थित छन् । धर्म निरपेक्ष मुलुक भइसकेपछि त्यसको प्रत्यक्ष असर हामीहरूलाई परेको छ । त्यसबाट भइरहेको असर हामीले नजिकबाट महशुस गरिरहेका छौं । आवाज उठाइरहेका छौं । तर, कतैबाट सुनुवाई हुनेगरेको छैन । हाम्रा आवाज सुनुवाई नभएकै कारण हामी विभिन्न ठाउँमा उभिन सकिरहेका छैनौं । र, हाम्रो संस्थामा राजनीति घुसाएर हामीलाई नै कमजोर पार्नेसम्मका खेलसम्म भए । त्यसले गर्दा हामी समस्याहा छौं ।

हामीमाथि राज्यले नै आक्रमण गर्न खोजिरहेको छ । विश्व हिन्दू महासंघको भवन रहेको ठाउँमा २२ रोपनी जमिन छ । त्यो महानगरपालिकाले अतिक्रमण गर्न खोजिरहेको छ । हामीले स्टे अडर ल्याएर रोकिरहेका छौं । हामीमाथि आर्थिक रुपमा पनि आक्रमण भएको छ । राज्यले हामीलाई एक रुपैयाँ पनि दिँदैन । हामी हाम्रो बलबुताले मात्र अडिएका छौं । संसारमा नै नेपाललाई हिन्दू राज्य बनाउने अभियानमा लागेका हामीहरूलाई यसरी राज्य नै कमजोर पोर्ने खेलमा लागेको छ । हाम्रै नाम, छाप र झण्डा बोकेर अर्को संस्था खडा भएको छ । यस्तो गर्ने अधिकार कानुनको कुन धारामा छ । नाम जुधेको संस्था दर्ता नै गर्न पाइदैन । सरकारले यही नाममा अर्को संस्था खडा गर्न लगाएर सरकारले हामीलाई कमजोर पारिरहेको छ । हाम्रा थुप्रै कार्यक्रम थिए । एक विद्यालय हाम्रो कन्सेप्ट थियो । यो विश्व हिन्दू महासंघबाट फुटाएर विश्व हिन्दू परिषदमा लगियो । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अर्को विश्व हिन्दू महासंघ परिषद खोलेर राजनीति घुसाउने काम भयो ।

विश्व हिन्दू महासंघको ४० वर्षे इतिहासमा म पहिलो पटक महिला कार्यबहाक अध्यक्ष बने । मेरो खुवै विरोध भयो । यसलाई हेर्दा हिन्दू धर्मभित्र एउटा जड शक्ति जडा गाडेर बसेको महशुस भयो । अब त्यसको अन्त्य हुनुपर्छ । कतिपय पछाडि पारिएका वर्गका साथिहरू मलाई छुवाछुतको विरुद्धमा काम गर्न भन्नु भएको छ । म यसको विरुद्धमा सधै लाग्ने छु । हाम्रो विधानमा जातिय छुवाछुतका विरुद्धमा रहेर मानव कल्याणमा काम गर्ने कुरा उल्लेख छ । म सधै त्यसैमा टेकेर काम गर्ने छु । अब वार्षिक तालिका बनाएर नै जातीय छुवाछुतका विरुद्धमा हामी जनचेतना मूलक अभियान सञ्चालन गर्ने छौं । हाम्रो विभिन्न जिल्लामा समिति छ । हाम्रा अन्य समिति छन् । अब हामी ती सबैलाई परिचालन गरेर देशभर पुग्ने छौं । र, जनचेतनाका अभियान सञ्चालन गर्ने छौं । अब हामी युवा वर्गलाई साथमै लगेर आफ्ना कार्यक्रम अगाडि बढाउने छौं । बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलहरूको छलफलका आधारमा हामी अब हाम्रा गतिविधिलाई प्रभावकारी रुपमा अगाडि बढाउने छौं ।

हाम्रो देशको मौलिक परम्परा, चिनारी निकै विशिष्ट छ । आराध्यदेव पशुपतिनाथको देश हो यो । सिताको जन्मभूमि हो यो । गौतमवुद्धको जन्म स्थल यही हो । यी धेरै कुराले हामी हिन्दू धर्ममा निकैमाथि छौं । हाम्रो छिमेकी देश भारतमा पनि बहुसंख्यक हिन्दू छन् । उहाँहरूको पनि हामी प्रति साधिन्यता छ । उहाहरूले पनि नेपाल जस्तो हिन्दू मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने सोच राख्नु पनि आफैमा सकरात्मक छ । यो भन्दै गर्दा नेपाल कसैको आडमा हिन्दू राज्य हुने होइन । हामी हाम्रो बलमा नै हिन्दू राज्य कायम हुने हो । हामीलाई नेपाली माटो सुहाउँदो हिन्दू राज्य चाहिएको हो ।

अब अर्को कुरा गरौं । हिन्दू धर्मको मात्रै कुरा गरिरहँदा नेपालमा अरु धर्मावलम्बीहरू पनि त छन् भन्ने प्रश्न उठ्ला । ओमकार परिवारले कहिले पनि आफ्नो मात्र हित र अरुको अहित गर्ने काम गर्दैन । यो धर्म समर्ग चराचर जगतका लागि हो । हामी अन्य धर्मावलम्बीहरूको सधै सम्मान गर्ने छौं । उहाँहरू बसुधैव कुटुम्बमको सम्बन्ध सधै रहने छ । त्यो हाम्रो हिन्द धर्मले जन्माएको कुरा हो । हामीहरूले उहाँहरूलाई सर्वे सभन्तु सुखी नः भनिरहेका हुन्छौं । उहाँहरू प्रति हाम्रो उच्चतम भावना छ । त्यसैले हामी सधै उहाँहरूको धर्मको सुरक्षामा पनि सजग नै रहने छौं । त्यो भयो भने हामी सबै सुरक्षित पनि हुन्छौं । अहिले त हामीलाई उचालेर धार्मिक द्वन्द्व फैलाउने खेल भइरहेको छ । हामी ८४ प्रतिशत हिन्दू हुँदा पनि त अहिले सहिषुण छौं । यो सधै कायम नै रहने छ ।

अर्को कुरा हिन्दू धर्मलाई राज संस्था वा राजासँग जोडेर हेरिन्छ । हाम्रा बेद, पुराण, उपनिषधहरूमा पनि यी कुरा छन् । त्यो गर्नको पनि कारण छ । राजा भनेको कुनै दल, व्यक्ति विशेषको हुँदैन । राजा सबैको साझा हुन्छ । त्यसैले राजाले सबैलाई न्याय गर्छन् भन्ने परिकल्पनाले हाम्रो धर्मलाई राजासँग पनि जोडेर हेर्ने गरिन्छ । त्यो परिकल्पनाबाट हिन्दू धर्मको संरक्षकको रुपमा राजाको परिकल्पना गरिएको हो । अहिले बुझाइको अभाव छ । हाम्रो देशको राज संस्थाको इतिहास झनै फरक छ । हाम्रो देशको राज संस्थाको इतिहास यो देशको निर्माणसँग जोडिएको छ । राजाले खाली शासन मात्र गरेको नभई यो देशको निर्माण पनि गर्नु भएको छ । त्यसैले धेरै जनताले अहिले पनि राजालाई सकरात्मक रुपमा लिने गरेका छन् । त्यसैले राजा र हिन्दू धर्मलाई जोडेर संकृण कुरा गर्नु हुँदैन । त्यसैले अब हामीले हिन्दू धर्मको संरक्षण गर्दै हिन्दू राज्यको माग बलियो साथ उठाउनुपर्छ ।

विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्षभण्डारीसँग हिमाल पोस्टले गरेको कुराकानीमा आधारित