पुडासैनी प्रकरण : अस्मिताले बयानमा यसो भनिन् - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पुडासैनी प्रकरण : अस्मिताले बयानमा यसो भनिन्



काठमाडौं: प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आत्महत्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्।

युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ।

‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घटनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’

प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।

‘मृत्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’

शालिकरामको मोबाइलबाट सबै डाटा रिकोभर
चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृत्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो।

‘मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मुद्दाको अनुसन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो ‘अनावश्यक विषय सुरक्षित रुपमा प्रहरीले राख्नेछ।’

डिएफएलको प्रतिवेदन शनिबारदेखि चितवनमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीको टोलीले विश्लेषण गरिरहेको छ। सोमबार अपरान्ह प्रहरीले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले पठाएको शालिकरामको पोष्टमार्टम रिपोर्टका आधार समेत अनुसन्धान गर्नेछ।

कपडा सुकाउन भन्दै डोरी खरिद
शालिकरामले घटना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको अनुसन्धानमा पुष्टि भएको छ।

कंगारु होटल रहेको स्थानबाट सडक वारी रहेको सो पसलमा पुगेका उनले आफुलाई कपडा सुकाउन डोरी चाहिएको भन्दै पाँच मिटर खरिद गरेका थिए। उनी पसलमा गएको क्लोज सर्किट क्यामरामा रेर्कड भिडियो प्रहरीले बरामद गरेको छ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।नेपाल खबरको सहयोगमा