एसिया कप क्रिकेट छनोटको तालिका सार्वजनिक - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

एसिया कप क्रिकेट छनोटको तालिका सार्वजनिक



काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले छनोटको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायोमास ओभलमा हुनेछ । अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएईं) को सामना गर्नेछ ।

नेपाल र युएईंबीचको खेल किन्नरा ओभलमा हुनेछ । सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग बायोमास ओभलमा, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग युकेएम ओभलमा खेल्नेछ । ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टम्बर ७ सम्म चल्नेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने छनोट विजेताले युएईंमा हुने एसिया कप स्थान बनाउनेछ । मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता छ ।