आफ्नै महाधिवेशन गर्न असक्षम भयो कांग्रेस - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

आफ्नै महाधिवेशन गर्न असक्षम भयो कांग्रेस



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस तोकिएको समयमा नै महाधिवेशन गर्न असक्षम भएको छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ। अब ९ देखि १३ मंसिरमा काठमाडौंमै हुने भएको छ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो। यसअघि १६ देखि १९ भदौमा गर्ने तय भएको थियो। तर, क्रियाशील सदस्यता विवाद नसुल्झिएपछि मंसिरसम्म सारिएको हो।

महाधिवेशनको नयाँ कार्यतालिका अनुसार, अब वडादेखि प्रदेश अधिवेशन पनि सारिएका छन्। गाउँ तथा नगरको वडा अधिवेशन १८ भदौमा तय गरिएको छ। यसअघि १२ साउनमा गर्ने भनिएको अधिवेशन स्थगित भएको थियो।

त्यस्तै, गाउँ तथा नगर अधिवेशन २७ भदौमा हुने भएको छ। यसअघि गाउँ तथा नगर अधिवेशन साउनमै गर्ने तय थियो। अब क्षेत्रीय अधिवेशन असोजमा हुने भएको छन। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १ असोजमा तोकिएको छ।

यसैगरी, जिल्ला अधिवेशन पनि असोजमा सारिएको छ। प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ। त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा १० असोजमा जिल्ला अधिवेशन हुने भएको छ।

प्रदेश अधिवेशन पनि कात्तिकमा सारिएको छ। अब प्रदेश अधिवेशन नयाँ मिति १० देखि १२ कात्तिक तय गरिएको छ।

वडादेखि प्रदेशसम्मका सबै अधिवेशन सकिएपछि महाधिवेशन हुनेछ। काठमाडौंमा हुने महाधिवेशनको नयाँ मिति ९ देखि १३ मंसिर तोकिएको छ।