आर्थिक प्रशासन र खरिद सम्बन्धि तालिम सुरु - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

आर्थिक प्रशासन र खरिद सम्बन्धि तालिम सुरु



गोविन्द बीसी
बौनिया,कैैैलाली । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक र लेखापालका लागि ३ दिने लेखा सम्बन्धि तालिम बौनियामा आइतबार देखि सुरु गरिएको छ ।

बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा विद्यालय आर्थिक प्रशासन र खरिद सम्बन्धि तालिम संचालन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बलिराम चौधरीले शिक्षा क्षेत्रको बिकास र शैक्षिक गुणस्तर वृद्धिका लागि सबैले सकारात्मक सोचाइ राख्न आवश्यक रहेको बताए ।

गाउँपालिकामा विद्यालय शिक्षाको सुधार, गुणस्तर र आवश्यकताको पहिचान गरि कसरी नमूना गाउँपालिकाको रूपमा चिनाउन सकिन्छ सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष चौधरीले विद्यालयको आर्थिक प्रशासन ब्यवस्थित र पारदर्शी गर्नुका साथै क्षमता अभिवृद्धिमा तालिमले सहयोग गर्ने अपेक्षा लिएको समेत बताए ।

गाउँपालिकाको वडा नम्बर-१ स्थित वडा कार्यालयको सेमिनार हलमा अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । तालिममा गाउँपालिका अन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयका प्रअ र विद्यालय सहायक गरि २५ जनाको सहभागिता रहेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

तालिममा आर्थिक प्रशासन संचालन गर्दा आइपर्ने समस्या, मालसामान खरिद गर्दा अवलम्बन गर्नुपर्ने सार्वजनिक खरिद प्रक्रिया, लेखा श्रेस्ता प्रणालीको ब्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

तालिमको सहजीकरण प्राबिधिक सहायक निरिखनन्दन लालकर्ण, लेखा अधिकृत कमलराज जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले गरेको हुन् ।