संसद पुनर्संरचना गर्न अर्थले किन दिएन पैसा ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

संसद पुनर्संरचना गर्न अर्थले किन दिएन पैसा ?



अर्थ मन्त्रालयले संघीय संसद् पुनर्संरचना गर्न आवश्यक रकम निकासा नगरेपछि सचिवालयले आफ्नै बजेटबाट काम अघि बढाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा हल पुनर्संरचनाका लागि सचिवालयले सरकारसँग तीन करोड ५० लाख माग गरेको थियो । तर, अर्थले तत्काल आफ्नै खर्चबाट काम अघि बढाउन भनेको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फ मतगणना सम्पन्न भए पनि आयोगले परिणाम सार्वजनिक गर्न अझै केही समय लाग्ने जनाएको छ । आजको नयाँ पत्रिकामा कृष्ण कट्टेलले लेखेका छन् ।

आयोगले मतपरिणाम सार्वजनिक गरी मतपरिणाम राष्ट्रपति कार्यालयमा बुझाएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।सचिवालयका कर्मचारीले अर्थ मन्त्रालयले चाँडै निर्णय नगरेकाले संसद् पुनर्संरचनामा ढिलाइ भएको बताएका छन् । यही अवस्थामा पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुने र राष्ट्रिय सभा हल बनाउन थप केही समय लाग्ने सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा हल पुनर्निर्माण
यसअघि संविधानसभाका लागि प्रयोग भएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै सरकारले संघीय संसद्को रूपमा प्रयोग गर्ने गरी भाडामा लिएको छ । संसद् सचिवालयले यसअघिको एक सदनात्मक ६०१ सदस्यीय हलमा २७५ सदस्यीय प्रतिनिधिसभा हल बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

संसद् सचिवालय सिंहदरबारमै रहने
संघीय संसद् नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद्को पुरानै भवनमा बस्ने भए पनि संसद् सचिवालय भने सिंहदरबारमै रहने भएको छ ।

अर्थले किन पैसा दिएन ?
अर्थ मन्त्रालयले पर्याप्त बजेटको अभाव देखाउँदै हाल सचिवालयकै विनियोजित बजेटबाट काम अघि बढाउन भनेको संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख डा. रोजनाथ पाण्डेले बताए । उनले विद्युतीय सामग्री जडानका लागि ३० दिनको समय दिएर टेन्डर आह्वान गरिएको र त्यसबाहेकको काम भने अघि बढिरहेको बताए । ‘प्रतिनिधिसभाको कुर्सीदेखि पर्दासम्मको रंग एक प्रकारको र राष्ट्रिय सभा हलको रंग अर्कै प्रकारको बनाउने तयारी भइरहेको छ । रकम पुगेन भने अर्थले निकासा गर्ला,’ पाण्डेले भने ।