कांग्रेस गठबन्धनलाई टिकाउने पक्षमा छः अर्जुननरसिंह केसी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

कांग्रेस गठबन्धनलाई टिकाउने पक्षमा छः अर्जुननरसिंह केसी



काठमाडौँ- सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन। सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ।

सरकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी संसद बैठकमा पेस गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन। गठबन्धनको जोगाउँदै एमसीसी पनि संसदमा पेस गर्ने तयारी कांग्रेसको छ। जस कारण कांग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ।

कांग्रेस गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए। उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए। ‘जुन प्रतिबद्धताको साथ चुनावसम्मै कायम रहनेगरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले भने ।

गठबन्धनमा आवद्ध दलबीच सहमति नभए एमालेसँग कांग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ। एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो। अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन। तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’

गत मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले बुधबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो।