आलोचित भएर दिल्लीबाट फर्किंदै आरजु राणा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

आलोचित भएर दिल्लीबाट फर्किंदै आरजु राणा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा आज स्वदेश फर्किँदै छिन्। प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि भारतको दिल्लीमा निजी भ्रमणमा रहेकी आरजू स्वदेश फर्किन लागेकी हुन्।

आरजूका भाई भूषण राणाको दिल्लीमा शल्यक्रिया भएको कारण भाइलाई भेट्न भन्दै उनी ११ पुसमा भारत गएकी थिइन्। निजी भ्रणका लागि दिल्ली गएको बताइए पनि त्यहाँ रहँदा उनले केही राजनीतिक भेटवार्ता गरेकी थिइन्।

प्रधानमन्त्री देउवाको २५ पुसमा हुने बताइएको भ्रमणको तयारीको सक्रियतामा आरजू लागे पनि प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको छ। भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात ग्लोवल समिटमा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम थियो।

यद्यपि, भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको भन्दै कार्यक्रम स्थगित भएको छ भने तय भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको छ।

निजी भ्रमणका लागि भारत पुगेकी आरजूले त्यहाँ गरेको राजनीतिक भेटवार्ताको भने नेपालमा आलोचना भएको थियो। प्रधानमन्त्रीको विदेश भ्रमणअघि देशको परराष्ट्र मन्त्रालयले त्यसको तयारी गर्नुपर्नेमा प्रधानमन्त्री पत्नी नै सक्रिय रहेको बताउँदै आरजूको दिल्ली सक्रियता आलोचनाको विषय बनेको थियो।