अर्जेन्टिनालाई यसरी हराउँदै मेक्सिकोले जित्यो उपाधि - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अर्जेन्टिनालाई यसरी हराउँदै मेक्सिकोले जित्यो उपाधि



कोही विश्वकपमा बेहोरोको हार भुलाउन त कोही जितको उत्सव मनाउन धेरै खेलाडी अहिले बिदामा छन् । उनीहरुले विश्वका विभिन्न ठाउँमा गएर बिदा मनाएका छन्, केही समयका लागि फुटबलबाट टाढा रहेर ।

तर विश्वकपमा अन्तिम ८ बाटै बाहिरिएको ब्राजिलका नेइमार भने फुटबलसँगै जोडिरहेका छन् । हुन त उनलाई विश्वकपमा बेहोरेको पराजय निकै भयानक नलागेको होइन ।

तर नेइमारले त्यसलाई चिर्दै फुटबलसँगै रमाउने कला सिकेका छन् । उनले फाइभ–ए साइड फुतबलमा सहभागिता जनाएर फुटबलसँगै जोडिइरहे ।

नेइमार जुनियर फाइभ–ए साइड फुटबल प्रतिस्पर्धा विश्वकै ठूलो प्रतिस्पर्धा हो । यसमा विश्वका ६० भन्दा बढी देशले सहभागिताका लागि प्रतिस्पर्धा गर्छन् । यो वर्षको फाइनल खेल शनिबार भएको छ।

ब्राजिलमा भएको प्रतिस्पर्धामा महिला तर्फको उपाधि घरेलु टोली ब्राजिलले इटालीलाई हराएर जित्यो । यस्तै मिक्सड् तर्फको उपाधि अर्जेन्टिनालाई ५–२ ले हराउँदै मेक्सिकोले जितेको छ ।

शनिबार भएको फाइनलमा नेइमार छोरा डाभी डेवी लुकासँगै रंगशालमा उपस्थित रहे । उनले मैदानमा गएर खेले पनि । यो प्रतिस्पर्धामा व्यवसायीक मात्रै होइन सबै क्षेत्रका व्यक्तिले सहभागिता जनाउन पाउँछन् । नेइमारले शनिबार डानी अल्भेससँग पनि फोटो खिचाए ।

यसअघि नेइमारले विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि आफू शोकमा गएको बताएका थिए । बेल्जियमसँग पराजित भएर ब्राजिल विश्वकपको अन्तिम ८ बाटै घर फर्किएको थियो ।

आफ्नो टिम बाहिरिएपछि बल हेर्न वा प्रतियोगिताका अरु खेल हेर्न मन नलागेको नेइमारले बताए । नेइमारले भने, ‘टिम बाहिरिएपछि म शोकमा थिएँ, निकै निराश र दुःखी पनि तर त्यो समय बितिसक्यो ।’

विश्वकपमा नेइमारले राम्रो खेलेका थिए, उनले दुई गोल गरे भने एक गोलका लागि सहयोग गरे । तर उनको प्रशंसा भन्दा आलोचना धेरै भयो, उनीमाथि सानो ट्याकललाई पनि ठूलो देखाएर मैदानमा धेरै लडेको भन्दै आलोचना भयो ।

नेइमारले एएफपीसँग भनेका छन्, ‘मानिसहरु आलोचना गर्नमा छिटो छन्, फउल गर्नु र फउल हुनु फरक कुरा हो ।’