एक अरिङ्गालको सुसाइड नोट… - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

एक अरिङ्गालको सुसाइड नोट…



लेखक: हेमन्त गिरी

प्रिय जनमानसहरू,

जीवनको अन्तिम अध्यायमा तपाईंहरूलाई ‘प्रिय’ सम्बोधन गर्दैछु । जीवनकाल भरी तपाईंहरू कहिलै प्रिय लाग्नुभएन । आज आएर जब आफ्नो जीवन नै अप्रिय लाग्न थाल्यो, तपाईंहरू साँच्चै प्रिय हुनुहुँदो रहेछ भन्ने महसूस भएको छ । तर के गरूँ, मेरा पापहरूको सीमारेखा यहीं सम्म रहेछ । प्यारा मानिसहरू संग बाँच्न र हाँस्न मलाई मेरो लाज, पश्चात्ताप र ग्लानीले नदिने भयो । त्यसैले आत्मदाह गर्दैछु । तर जानु अघि तपाईंहरू सामू आफूलाई फुकाउन चाहन्छु । ताकि मेरो आत्मा अशान्त नबनोस् !

जन्मिंदै म अरिंगाल थिइन, मानिस नै थिएँ । हुर्किने क्रममा समाजमा केही अरिंगालहरू देखें । उनीहरूको ठाँटबाँठ, अदब अनि जीवनशैली देख्दा लाग्न थाल्यो – ‘आहा यस्तो पो जिन्दगी ! काम गर्नु नपर्ने, गफ गरेकै भरमा, झुट बोलेकै भरमा, धम्की देखाएकै भरमा लाउन खान पुग्ने । लाउन खान मात्र हैन, मनग्ये दौलत र सम्पत्ति आर्जन गर्न सकिने ।’ मलाई उनीहरूको जीवनले अचम्मसंग आकर्षित गर्यो । विशेष गरी काला अरिंगालहरूको जीवनशैली लोभलाग्दो देखियो । समाजमा उनीहरूको रवाफ र दबाव हेर्न लायक थियो । भुँ भुँ गर्दै आवाज निकालेर उड्ने र उनीहरूको उडानमा देशको कानूनले पनि अवरोध नगर्ने, समाजको नियमले पनि छेकवार नलगाउने; त्यस्तो शानदार जीवन देखेपछि मैले आफूलाई रोक्न सकिन । म पनि अरिंगाल बन्ने निर्णय गरें । अरिंगालमा पनि कालो अरिंगाल बन्ने निर्णय गरें ।

मेरो यो निर्णय परिवारको लागि चाहिं सुखद थिएन । परिवार मलाई डाक्टर, इन्जिनियर, पाइलट, अधिकृत वा वकील त्यस्तै केही बनाउन चाहन्थ्यो सायद । ममा त्यो लामो बाटो हिंड्ने जाँगर र धैर्यता दुबै थिएन । छोंटो बाटोबाट शानदार जीवन जिउने उपाय देखिसकेको मैले सुरुमा परिवारको मन दुखाएँ । बिस्तारै आफन्तको मन दुखाएँ । सच्चा साथीभाईको मन पनि दुखाएँ । बिस्तारै समाजपनि दुखाएँ । अनि अलग्गिएर राजधानीको यात्रा तय गरें । सुनेको थिएँ, अरिंगालको सबै भन्दा ठूलो गोलो राजधानीमा हुन्छ । मेरो प्रशिक्षण त्यहीं सुरु भयो ।

सुरुमा अन्योल भयो- प्रशिक्षणको लागि अस्कल छिरूँ कि त्रिचन्द्र, शंकरदेव छिरूँ कि रत्नराज्य, मीनभवन छिरूँ कि पाटन ? अन्योल बढ्दै जाँदा मैले अनौठो उपाय निकालें । सबैमा छिर्ने । भर्ना एक ठाउँ भए पनि सबै ठाऊँका प्रशिक्षणमा सहभागी हुन पाइने सुविधा राजधानीले दिएको रहेछ । अझ भनौं शिंहदरबारले दिएको रहेछ । ईंटा कती टाढा सम्म फाल्न सक्ने, टायर कतीवटा सम्म बाल्न सक्ने, रेलिंग कसरी भाँच्ने अनि गाडी कसरी जलाउने जस्ता प्रशिक्षण राता अरिंगालहरूलाई दिइँदो रहेछ । मैले गाउँतिर देखेका अरिंगाल त अधिकांश राता अरिंगाल रहेछन । खास काला अरिंगाल त राजधानीमा हुँदा रहेछन । काला अरिंगालको प्रशिक्षण चाहिं अलि गोप्य हुँदोरहेछ । मलाई कालो अरिंगाल बन्नु थियो ।

जे सोंचेर घरबाट निस्केको थिएँ, राजधानीको अरिंगाल प्रशिक्षण केन्द्रमा छिरेपछि मैले पूरानो मान्यता फेर्नु पर्ने भयो । पढ्दै नपढी अरिंगाल त बन्न सकिने रहेछ तर कालो अरिंगाल नै बन्न चाहिं अलि अलि पढे झैं पनि गर्नु पर्दो रहेछ । मैले पनि पढें । राता अरिंगालका कैयौं ब्याचहरू पास भएर गइसक्दा पनि म कैयौं वर्ष उही क्लासमा रोकिइरहें, किनकि म कालो अरिंगाल थिएँ, मलाई रोकिनु पर्ने आदेश थियो । यस हिसाबले मैले उनीहरूले भन्दा पनि धेरै पढें, धेरै वर्ष पढें । त्यसमाथि मेरो कांधमा नयाँ आउने राता अरिंगालहरूलाई प्रशिक्षण दिने जिम्मेवारी समेत थपिएको थियो । आफ्नो काम करीब एक दशक मैले बखुवी निभाएँ । प्रशिक्षक पदबाट मैले गएको चुनाव ताका अवकास लिएको हुँ । मलाई टिकट दिइनेछ भनेर आस्वस्त पारिएको थियो तर पछि प्रविधिक कारण देखाई दिइएन । सट्टामा झन ठूलो जिम्मेवारी दिइयो भनियो- सामाजिक संजाल संयोजकको । चित्त बुझाएँ ।

सुरूमा जाँगर नलागे पनि पछि रस पर्दै गयो । मेरो खास पहिचान यता सुरु भयो जस्तो लाग्न थाल्यो । दुईचार सयले चिनेको म दुई चार हजारमा चिनिन थालें । बिस्तारै दुई चार लाखमा पनि चिनिन थालें । चिनिनु न हो, जसरी चिनिए पनि हुन्छ । बिन लादेन पनि चिनिएकै हुन, बुद्ध पनि चिनिएकै हुन । मलाई आएका गालीहरू जम्मा गर्ने हो भने कैयौं ठेली महाभारत भन्दा बढी हुन्छन होला । मलाई गरिएका घृणाहरू जम्मा गर्ने हो भने कैयौं बागमतीहरुलाई कालो बनाउन पुग्छ होला । मैले सबथोक सहें । फुर्सदले भ्याए सम्म प्रतिवाद पनि गरें । धम्की पनि दिएँ । ‘पावर एक्सरसाइज’ पनि गरें । तर सामाजिक संजाल एउटा बाढी रहेछ । चुनावको बेला मासु र रक्सीले मुख थुने जस्तो रहेनछ । मैले सबथोक पचाउने निर्णय गरें । लाज पचाए पछि अरु पचाउन खासै गाह्रो पर्दो पनि रहेनछ । पचाइरहें र पनि निरन्तर लेखिरहें- ‘मलाई मेरो नेताको पाद पनि बसाउँछ, आची पनि सुगन्धित लाग्छ । म मेरो प्राण रहेसम्म मेरा नेताहरूको पक्षमा उभिइरहने छु । मेरो ईमान जमान, नैतिकता, विवेक अनि अलि अलि पढ़ेको ज्ञान र सिप मैले बाग्मतीमा बगाइसकेको छु । मेरा आफ्ना आदर्शहरू, परिवारका सपनाहरू, साथीभाईका आसाहरू सबैमा आगो लगाइसकेको छु । सानो तिनो रांको लिएर मलाई जलाउन नआउनु, म कालो अरिंगाल बनिसकेको छु ।’ मैले हुँकार गरिरहें !

यसपाली लकडाउनको कारण घर आएको थिएँ । अरिंगाल बन्ने यात्रामा निस्किएपछि सम्भवत: परिवारसंग यती लामो समय बसेको यो पहिलो पटक हो । एउटा सानो छोरो छ, छोरी ठुलै भइसकेकी छिन । बाबा-आमा बुढा भइसक्नु’भो । अचानक हिंजो सानो छोराले सोध्यो- ‘बाबा हजुर के गर्नु हुन्छ ?’ छोरीले पुलुक्क मम्मी तिर हेरी । मम्मीले डराई डराई म तिर हेरी । एक मनले सोंच्यो- म भनिदिन्छु छोरोलाई कि म कालो अरिंगाल हुँ भनेर । फेरि अर्को मन डरायो- छोरी त प्रश्न सोध्न सक्ने भएकी छे । ‘अरिंगाल भएकै भरमा घरमा यत्रो धन सम्पत्ति, शान-शौकत कसरी थुपार्न सकिन्छ ? अरिंगालले खासमा के काम गर्छन ? काम नगरी सम्पत्ति कमाउने मानिसलाई अरिंगाल भनिने हो ?’ छोरीका सम्भावित प्रश्नले अवाक बनाइदिए । फेरी उसले सामाजिक संजालमा मलाई आउने गाली पनि त पढेकै होली !

भित्तोबाट बाबाको स्वाभिमानी फोटोले एकनाश हेरिरह्यो । बाबा- प्रहरीका रिटायर्ड हवल्दार । ‘एउटा छोरोलाई जसरी पनि डाक्टर बनाउने हुँ’ भन्नुहुन्थ्यो रे छिमेकीहरूसंग । अचेल म घरमा आउँदा आफ्नो कोठाबाट बाहिर निस्किनु हुन्न । सायद मेरो अनुहार मात्र पनि बिझाउँछ उहाँलाई । बच्चाहरू काखमा आएर बस्दैनन । श्रीमती खासै बोल्दिनन । भन्छिन रे- ‘बच्चाबच्ची कसरी भए मलाई थाहा छैन, जाँडको तालमा दुई चार पटक घर आका त हुन !’ आमा अलि अलि बोल्न खोज्नुहुन्छ, म मोबाइलमा नै व्यस्त हुन्छु आलोचकहरूलाई जवाफ फर्काउन । म ‘सामाजिक संजाल संयोजक’ हुँ नि त !

सामाजिक संजाल संयोजक । एक किसिमले भनूँ भने समाजको संयोजक । परिवारको संयोजक बन्न नसकेको मानिस म, सामाजिक संयोजक ! भोलीको समाजसेवी । पर्सीको नेता । आघौंको मन्त्री । त्यसपछिको राष्ट्रप्रमुख । मलाई परिवार किन चाहियो ? साथीभाई, आफन्त किन चाहियो ? खासमा मलाई जीवन नै किन चाहियो ? मौका यही हो, भोली बिहान सम्म म सधैको लागि निदाउने छु । कोरोनाले लग्यो भनिदिनुहोला !

समय यही सही हो । यो बेला मेरो लाश कसैले छुने छैनन । मेरो अनुहार कसैले हेर्ने छैनन । मलाई छातीमा टाँसेर रुने कोही हुने छैनन । यत्ति हो- बाबा कोठाबाट निस्केर प्लास्टिकमा बेरिएको मेरो कालो शरीर हेर्न खोज्नुहुनेछ, मुख लुकाएर गयो कि देखाएर गयो जान्न खोज्नुहुनेछ । छोरोले ‘बाबा के गर्नुहुन्छ तपाईं’ भनी प्रश्न सोधेर दिक्क पार्ने छैन । छोरीले हजुरबुवाको सपना साकार पार्ने अठोट लिनेछिन, गन्दा गालीहरू भोलीदेखि पढ्ने छैनिन । श्रीमतीले मध्यरातमा मातेर आउने पुरुष लिंगबाट छुटकारा पाउनेछिन । अलि अलि आमा रोलिन रोएमा, आफ्नो कोख छामेर, आफ्नो भाग्य धिक्कारेर ! परिवारबाट एउटा खील उँखेलिने छ, कालो अरिंगालको खील !

समाजले भन्नेछ- को थियो र त्यो जाबो ? अरिंगाल त थियो, आफ्नै अहंकारले जल्यो, सकियो ! पार्टीले भन्ला- त्यो कोरोनाले मरेको जाबोलाई के झण्डा ओढाउनु, छोड्दिनूस् !

अलबिदा !!