अर्घाखाँचीमा ८ दल र २ स्वतन्त्र उमेदवार बिच चुनावी भिडन्त ।
कमल बिस्ट/अर्घाखाँची,कात्तिक १६
अर्घाखाँचीमा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८ दल र दुइ स्वतन्त्र उम्मेदवारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । दलहरुले उल्लासमय वातवरणमा वाजागाजा सहित खुसीयाली मनाउँदै उम्मेद्वारी दर्ता गराएका हुन । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि डा रामबहादुर विसी, प्रदेशसभा क्षेत्र नं. १ मा कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान र क्षेत्र नं. २ मा हिम्मत टण्डनले उम्मेद्वारी दर्ता गराएका छन । वाम गठवन्धबाट प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका संसदिय दलका उपनेता टोपबहादुर रायमाझीले उम्मेद्वारी दर्ता गराएका छन । कांग्रेसका विसी २०७० सालको संविधान सभा निर्वाचनमा रायमाझीसँग पराजित भएका थिए । यसपटक पनि दुइ नेता बीच प्रतिस्पर्धा हुँदैछ ।
वाम गठवन्धबाट प्रदेश सभा क्षेत्र नं. १ मा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य र प्रदेश सभा क्षेत्र नं. २ मा एमालेका नेता रामजी प्रसाद घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमार्चाबाट प्रतिनिधिसभामा शेरबहादुर विसीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा क्षेत्र नं. १ मा सागर केसी र प्रदेश सभा क्षेत्र नं. २ राष्ट्रिय जनमार्चाका जिल्ला अध्यक्ष झविलाल थापाले उम्मेदवारी दर्ता गराएका छन । नयाँ शक्तिबाट प्रतिनिधिसभामा छन्द बहादुर पन्थी, प्रदेश सभा क्षेत्र नं. १ मा गोकर्ण थापा र क्षेत्र नं. २ मा मनिस कुमार सिंहले उम्मेद्वारी दर्ता गराएका छन् । विवेकशिल साझा पार्टीबाट प्रतिनिधि सभामा विष्णु प्रसाद मिश्रले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश सभा क्षेत्र नं. १ मा हरि प्रसाद भुसालले उम्मेद्वारी दर्ता गराएका छन् ।
एकिकृत राप्रपा राष्ट्रवादीबाट प्रतिनिधि सभा निर्वाचनका लागि भोजराज दमासेले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि डिल्लीराज भुसालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाले प्रदेश सभा क्षेत्र नं. १ मा दिपक कुवँर र प्रदेश सभा क्षेत्र नंं. २ मा अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् । कांग्रेस एमाले, राष्ट्रिय जनमार्चा, राप्रपा र नायाँ शक्तिका जिल्ला अध्यक्षले प्रदेश सभा निर्वाचनमा चुनाव लड्दै छन् । नेकपा मालेले प्रदेश सभा क्षेत्र नं. २ मा मात्र उम्मेद्वारी दर्ता गराएको छ । मालेको तर्फबाट विना सुनारले उम्मेद्वारी दर्ता गराएकी छिन् ।
प्रदेश सभा क्षेत्र नं. १ रोमाहर्ष खनालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलहरुले हजारौं कार्यकर्ताका साथमा उम्मेदवारी दर्ता गराएका छन् । सन्धिखर्कका विभिन्न भागमा जुलुस परिक्रमा गराइ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता पछि संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा रामबहादुर विसीले गणतन्त्रको संस्थागत विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताए ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ उम्मेदवार विष्णु प्रसाद खनाल मुस्कानले राणा, पञ्जायत र राजतन्त्रका विरुद्ध लगेको कांग्रेसले यसपटकको निर्वाचनमा पनि जित हासिल गर्ने बताए । वाम गठवन्धनले उम्मेदवारी दर्ता पछि जुलुसलाई आमसभामा परिणत गरेको थियो । सभालाई सम्वोधन गर्दै पूर्व उपप्रधान मन्त्री तथा वाम गठवन्धका प्रतिनिधिसभा उम्मेद्वार टोपबहादुर रायमाझीले राजनीतिक स्थिरता, स्थायी सरकार र मुलुकको समृद्धिका लागि वामपन्थी एकता आवश्यक रहेको बताए । उनले संघ र प्रदेशको निर्वाचनपछि सम्पूर्ण वामपन्थी शक्तिहरु बीच एकता कायम गरि एउटै पार्टी निर्माण गर्ने गृहकार्य भइरहेको दावी गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँले राष्ट्रियताको रक्षा र दीगो विकासका लागि वाम गठवन्ध निर्माण गरिएको बताए । प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार चेतनारायण आचार्यले कम्युनिष्ट पार्टी बीचको एकताले नागरिकमा निकै उत्साह आएको भन्दै आर्थिक समृद्धि राजनीतिक स्थायीत्वका लागि वाम गठवन्धको विकल्ल नभएको बताए । उनले वाम गठवन्धनका उम्मेदवारहरुले विजयी हासिल गरेपछि दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बताए । प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले वामपन्थी एकता सँगै नयाँ युगको थालनी भएको बताए । उनले वाम पन्थी शक्तिहरुलाई लडाएर फाइदा लिइरहेका शक्तिहरुले वाम गठवन्ध विरद्ध विषवमन गरिरहेको आरोप लगाए ।
अर्घाखाँची जिल्ला क्षेत्र नं. २ का निवर्तमान सांसद डा दुमन सिंह थापाले वामपन्थी गठवन्धका उम्मेदवारको जित सुनिश्चित भएको बताए । माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विको अध्यक्षता, एमाले जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला स्वागत मन्तव्य र माओवादी केन्द्रकी सहसंयोजक छमकुमारी खनाल चिनारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।