अर्घाखाँचीका गाउँ गाउँमा सूचनाको हक सम्बन्धी सचेतना फैलाउदै सिआइजी ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अर्घाखाँचीका गाउँ गाउँमा सूचनाको हक सम्बन्धी सचेतना फैलाउदै सिआइजी !



कमल बिष्ट /अर्घाखाँची 

भुमिकास्थान नगरपालिकाको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम उदयठाँटीमा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रेश्म थापाले भुमिकास्थान नगरपालिकामा सूचना नलुक्ने दाबी सहित सबै सार्वजनिक निकायहरुलाई सूचना अधिकारी तोक्न आव्हान गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा पत्रकार महासङ्घका अध्यक्ष हिमवहादुर जिसि लेकालीले सुशासन प्रबद्र्धनमा सिआईजीको उल्लेखनीय भूमिका भएको बताउँदै सिआईजी संस्था र पत्रकारहरुका बिच घनिष्ट सम्बन्ध रहेको बताउनु भएको थियो । वडा नं. ६ का वडा अध्यक्ष झविलाल बन्जाडेको सभापतित्व, वडा सचिव बलाराम खनालको स्वागत मनत्व्य र शिक्षक शंकरमान श्रेष्ठको सञ्चालन रहेको सो कार्यक्रममा सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो ।

सम्पूर्ण राजनैतिक दलको तर्फबाट राजेन्द्र प्रसाद शर्मा, ठाकुर प्रसाद वेल्वासे लगायतका बक्ताहरुले सूचनाको हक भन्ने कुरा अलिकति सुनिएको भए पनि आजको कार्यक्रमले धेरै कुरा सिकाएको र यसलाई व्यवहारमा उतारी आफ्नो क्षेत्रमा सुशासन कायम गराउने बताउनु भएको थियो । कार्यक्रममा वडा नं. ५ र ६ का वडा अध्यक्षहरुलाई सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड तथा आवस्यकीय पाठयसामाग्रीहरु मायाको चिनो प्रदान गरिनुका साथै सुपादेउराली टेलिभिजनका पत्रकार प्रकाश पौडेललाई सम्मान गरिएको थियो । सिआईजीको अगामी कार्यक्रम पर्सि आइतबार नुवाकोटको पिपलनेटामा हुने कुरा सार्वजनिक गरिएको छ ।