'अप्रिल फुल' बारे बुटवलमा साहित्यकारबिच अन्तरक्रिया - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘अप्रिल फुल’ बारे बुटवलमा साहित्यकारबिच अन्तरक्रिया



बुटवल-
पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ का बारेमा शनिवार बुटवलमा साहित्यकारहरूबिच अन्तर्क्रिया गरिएको छ । लेखक आचार्यको उपस्थितिमा भएको कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न व्यक्तिहरूले पुस्तकका बारेमा चर्चा गरेका थिए ।

अप्रिल फुल पुस्तकमा लेखकले सरल भाष प्रयोग गरेको र अहिलेको सामाजिक अवस्थाको चित्रण गरेको बताएका थिए । ‘अप्रिल फुल’ले वर्तमान युवापुस्ताको मनोवैज्ञानिक भावनाको प्रतिनिधित्व गरेको भन्दै लेखक आचार्यको लेखनशैलीको पनि प्रशंसा गरेका थिए ।

नयाँ पत्रिका दैनिकमा कार्यरत आचार्यको पहिलो कृति को समीक्षा गर्दै वरिष्ठ गजलकार बाबु त्रिपाठीले अप्रिल फुल पुस्तकमा सामाजिक अवस्थाहरू जोडिएको र यसमा प्रेम मात्र नभएर झुक्किएका विषयहरू पनि समेटिएको बताए ।

त्यस्तै बुटवलका साहित्यकार गिरि श्रीष मगरले उपन्यासमा प्रयोग भएको भाषा सरल रहेको भन्दै उपन्यासका बारेमा चर्चा गरेका थिए । उनले लेअकलाई अझ धेरै कृतिहरू लेख्न पनि सुझाव दिएका थिए ।
त्यस्तै अर्का साहित्यकार राजेन्द्र आचार्यले उपन्यास युवा पुस्ता, प्रेम प्रसगमा केन्द्रित रहेर सुरुवात भएको भन्दै सुरुवात राम्रो रहेको बताए । उपन्यासमा छोटा र सरल वाक्यहरू प्रयोग भएकाले पढ्नलाई पनि सरल रहेको बताएका थिए ।

त्यस्तै लेखक रामचन्द्र श्रेष्ठले पनि उपन्यास क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पुस्तकका लेखक आचार्यले पुस्तक सिर्जना गर्दाका अनुभव देखि पुस्तकमा समेटिएका विषयबारे जानकारी गराएका थिए ।
गजल सागर नेपालले आयोजना गरेको पुस्तक अन्तरक्रियामा साहित्यकारहरू गिरि श्रीष मगर, यज्ञलाल सुवेदी, मीनबहादुर राना, कृष्ण गाउँले, रामचन्द्र श्रेष्ठ, अमृत भुसाल पियुष, सरिता श्रीष, पुनाराम गिरि, पुरुषोत्तम पाण्डे, यज्ञ न्यौपाने, ईश्वर ढकाललगायतले रचना वाचन तथा साहित्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।