अस्पतालहरु घाइतेले भरिए, सहयोग गर्न अपिल - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अस्पतालहरु घाइतेले भरिए, सहयोग गर्न अपिल



काठमाडौं— ‘अहिलेसम्म कम्तिमा २४ जनाको मृत्यु भएको खबर आएको छ, मृतकको संख्या बढ्न सक्छ’, बडो त्रासद स्वरमा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले हामीसँग मध्यरातमा भने, ‘रातको समय भएकाले उद्दार पनि तिब्र गतिमा हुन सकेको छैन। तर, सकेजति सबै परिचालित भएका छौं।’

आइतबार सात बजेतिर बारा–पर्सामा आएको असिना पानी र हावाहुरीमा कम्तिमा २५ जनाको मृत्यु भएको खबर प्रधानमन्त्री कार्यालयले नै पुष्टि गरेको छ। घटनामा कम्तिमा ४ सय जना घाइते भएको प्रारम्भिक खबर छ।

यस्तो दुखद खबरपछि हामीले राति अबेर बारा र पर्साका विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरेर अपडेट लिएका छौं।

बारा कलैयाका स्थानीयवासी हरिराम ठाकुरले भने, ‘हामीहरु अहिले कुरा गर्ने अवस्थामा छैनौं। मेरा एकजना आफन्तले ज्यान गुमाएको खबर पाएको छु। हावाहुरीले सबै चिज तहसनहस गरेको छ।’
विजुलीका पोल, घरका छानाहरु र कतिपय स्थानमा रुखहरु ढलेर सडकसम्म अवरुद्ध भएका छन्।

हावाहुन्डरीको असर वारा र पर्सा बाहेक रौतहट र सर्लाहीमा पनि परेको बताइएको छ ।

‘हामी अहिले राति पनि सम्मपूर्ण अस्पताल तथा सुरक्षाकर्मीहरुको सम्पर्कमा छौं। उद्दारका लागि प्रयास गरिरहेका छौँ। घाइतेहरुको उपचार खर्चको चिन्ता नगरौँ, अहिले जे जस्तो छ, तत्काल उपचार गरौँ’ दुई नम्बर प्रदेशका न्यायधिवक्ता दीपेन्द्र झाले आइतबार राति अबेर ट्वीट गर्दै सबै घाइतेहरुको उपचारमा जोड दिएका छन्।

त्यसैगरी, बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले अधिकांश अस्पताल र क्लिनिकहरु घाइतेहरुले भरिभराउ रहेको जानकारी दिएका छन्। पर्साका उमेश ठाकुरले फेसबुकमा स्टाटस लेख्दै, अस्पतालहरुमा घाइतेहरुका लागि रगतको अभाव देखिन थालेकाले सबैसँग सहयोगको अपील गरेका छन्।

यता, प्रधानमन्त्री केपी ओलीले राति अबेर ट्वीट गर्दै सोमबहार बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजनू हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।