अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्दैन :प्रचण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्दैन :प्रचण्ड



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने बताएका छन् ।

यही मंसिर ८ गते गोली हानी हत्या गरिएका प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्र चौधरी ‘राजाबाबु’ को शोकसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अपराधिक क्रियाकलाप गर्ने तत्वलाई कडापूर्वक कानुनी कार्वाही गरेर मात्र नियन्त्रण गर्न सकिन्छ ।’

उनले ठूल्ठूला युद्ध र लडाइहरु पनि शान्तिपूर्ण ढंगले संवाद र सहमतिका माध्यमबाट हल भएको उल्लेख गर्दै अपराधका घटनालाई संवादको तरिकाबाट होइन, कार्वाहीको तरिकाबाट मात्रै समाधान गर्न सकिने बताए ।

अध्यक्ष प्रचण्डले कपिलवस्तुमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिएकाले दीपेन्द्रको हत्या त्यही त हैन भन्ने पनि शंका गरिएको बताए ।

उनले भने, ‘कतिपय अवस्थामा समुदायका बीचमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिन्छ । तर जे भएपनि कानुनी कार्वाही गरेर जनतालाई जीवनको सुरक्षा र काम कारवाही सहज ढंगले अघि बढाउन सक्ने वातावरण बन्नु पर्छ ।’

साथै, अध्यक्ष प्रचण्डले पाँच वर्षभित्र चल्ने ७० वर्षपछि बनाएकाले नेकपाको सरकारले जनताका भावना अनुसारका काम गर्ने बताए । उनले जनताको अपेक्षा पूरा गर्न अहिलेको सरकार लागि रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चुनावमा गरेका प्रतिवद्धता क्रमशः पूरा भइरहेको बताए ।