अर्जेन्टिनासँग खेल्दा नाइजेरियाका कप्तानका बुवाको अपहरण - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अर्जेन्टिनासँग खेल्दा नाइजेरियाका कप्तानका बुवाको अपहरण



नाइजेरियाका कप्तान जोन मिकेल ओबीका बुवा अपहरणबाट मुक्त भएका छन् । उनका बुवाको सात वर्षमा दोस्रो पटक अपहरण भएको थियो । कप्तान ओबीले देशमा सुरक्षाको अवस्था डरलाग्दो रहेको बताएका छन् ।

गएको जुन २६ मा अपहरणमा परेका ओबीका बुवा माइकल ओबी सोमबार अपहरण मुक्त भएका हुन् । अपहरण कारीले जुन २६ मा माइकल र उनका ड्राइभरलाई बन्दुक ताकेर अपहरण गरेका थिए ।

मिकेलले आफ्ना बुवा अपहरणमा परेको कुरा विश्वकप फुटबलमा अर्जेन्टिनासँगको खेल सुरु हुनु भन्दा चार घण्टा अघि थाहा पाएका थिए । नाइजेरियाले समूह चरणको अन्तिम खेलमा जुन २६ मा लियोनल मेस्सीको टिम अर्जेन्टिनासँग खेलेको थियो ।

यो खेलमा नाइजेरिया २–१ ले पराजित भएर समूह चरणबाटै घर फर्किन बाध्य भएको थियो ।

मिकेलले भने, ‘मैले दोस्रो पटक बुवा गुमाउने डरमा समय बिताउनु पर्‍यो र यो निकै डर लाग्दो कुरा हो । आज मेरो बुवा अपहरणमा पर्नुभयो, भोलि अरु कोही पर्न सक्छ । उनीहरुलाई पनि यस्तै भय हुनेछ । देशको सुरक्षा अवस्था निकै डर लाग्दो छ ।’

चेल्सीका पूर्व मिडफिल्डर मिकेलले बुवा अहरणमा परेको कुरा टिम बसमार्फत सेन्ट पिटर्सबर्ग रंगशाला जाँदै गर्दै परिवारका सदस्यले गरेको टेलिफोनबाट थाहा पाएका थिए । परिवारका सदस्यले उनलाई अपहरणकारीको नम्बरमा फोन गर्न भनेका थिए ।

उनले घटनाबारे टिमका साथी तथा अरु पदाधिकारीसँग खेलअघि कुरा नै गरेनन् । प्रहरीको सहयोगमा उनका बुवा माइकल सुरक्षित रुपमा अपहरण मुक्त भएका छन् ।

मिकेलले सुरक्षित भएर बाँच्न पाउने अधिकार सबैको रहेको भन्दै सुरक्षाका लागि अपिल गरेका छन् ।