प्रधानमन्त्रीले भने: नेपाल अन्य देशबाट किनेर खाने देश होइन - Himal Post Himal Post
  • १८ आश्विन २०८२, शनिबार
  •      Sat Oct 4 2025
Logo

प्रधानमन्त्रीले भने: नेपाल अन्य देशबाट किनेर खाने देश होइन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्य मुलुकबाट किनेर खाने देश नभएको बताएका छन्। धनगढीमा शुक्रबार आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल अरु देशबाट किनेर खाने आयात्मक देश नभएको बताएका हुन्।

‘नेपाल एक आयात्मक देश होइन, अरु देशबाट सामान किनेर खाने, हाम्रो ध्यान देशमा उद्योगहरु स्थापना गर्नेमा छ,’ उनले भने,‘हाम्रो ध्यान आफूलाई चाहिने सामान आफ्नै देशमा उत्पादन गर्ने र आफूले उपभोग गरेका सामानहरु बाहिर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्नेमा छ।’

प्रधानमन्त्री ओलीले अबदेखि नेपालीले रोजगारीका लागि विदेश जानुनपर्ने समेत दाबी गरे। उनले नेपालमै रोजगारीका अवसर सिर्जना गर्नेमा आफ्नो ध्यान गएको जिकिर गरे।‘ ‘हामीलाई देश बनाउनु छ। हामीलाई यो देशमा कृषिमा आधुनिकीकरण गर्नु छ, कृषिको व्यवसायिकीकरण गर्नु छ,’ उनले भने, ‘यहाँका वनहरुलाई हामीलाई बगैंचा बनाउनु छ। रोजगारीका लागि खाडीतिर र भारततिर जानुपर्ने छैन, नेपालमै रोजकारीका अवसरहरु सिर्जना गर्ने हाम्रो ध्याउन्न छ।’

उनले आफ्नो ध्यान नेपालीले पाएको दुःख कष्टसँग भएको समेत जिकिर गरे। ‘हाम्रो चिन्ता नेपालीले पाएका दुःख कष्टसँग छ, हाम्रो चिन्ता हरेक नेपालीका छोराछोरीले पढ्न पाउनुपर्छ भन्नेमा छ, पढाउन सक्ने वातावरण बनाउनु छ। हामी त्यस काममा लागेका छौं,’ ओलीले भने।

सम्बोधनका क्रममा उनले आफू नेतृत्वको सरकारले एक वर्षमा ९७९ किलोमिटर निमार्ण गरेको समेत बताएकी थिए।

संसद विघटनपछि सत्तारूढ दल विभाजित बनेपछि प्रधानमन्त्री ओली पहिलोपटक सुदूरपश्चिम पुगेका हुन्।