अनुभूति : साइकलदेखि कारसम्म - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अनुभूति : साइकलदेखि कारसम्म



– सुबिन भट्टराई

पैदल हिँडिरहेका मान्छेहरुलाई अनावश्यक ध्वनी आतंकको माहौल बनाइदिँदै । म नयाँ नयाँ जोगी, खूब घस्थेँ खरानी । वास्तविकतामा साइकिल, सपनामा साइकिल, दूध लिन जा साइकिल, तरकारी किन्न जा साइकिल, मेरो प्रिय साथी भएर निस्कियो साइकिल ।

एकादेशको कुरा हो । बाल्यकालको कुरो भनौँ अझ । मध्यम स्तरको स्कूल पढ्थेँ । स्कूलसँग बस थिएन । घरबाट स्कूल धाउँदा करीब आधा घण्टा पैँतालिस मिनेट हिँडेर जानुपथ्र्यो । केही गल्ली पर्थे । अलिकति मूल सडकको भागपनि पथ्र्यो । कतै पेटी भएको सडक पथ्र्यो त कतै पेटी नभएको सडक । कतै ठूल्ठूला खाल्डा हुन्थे र बर्खा याममा तिनमा पानी जम्थे ।

हिँड्दै गर्दा पर परबाट हर्न बजाउँदै गाडीहरु आउँथे । कानका जाली नै फ्ट्ला झैँ हुन्थ्यो । झनक्क रिस उठ्थ्यो । तर रिसलाईपनि आफूलाई झैँ साइड लगाउन म विवश हुन्थेँ । पेटी नभएको सडकमा म सतर्क भएर किनारा लागिहाल्थेँ । सडक धेरै नै व्यस्त हुँदा कर्कश हर्नले माहौल र मूड दुवै बिथोलिरहेको हुन्थ्यो । त्यसरी कर्कश हर्न बजाउनेहरुलाई गाली गरिन्थ्यो ।

रफ्तारमा आइरहेका गाडीहरुको चक्का कहिलेकाँही सडकमा परेको खाल्डोमा पर्दा केही नजीकै हिँडिरहेको मेरो युनिफर्ममा हिलो छ्यापिन्थ्यो । म झनै रिसाउँथेँ । ढुँगै टिपेर हानिदिउँ झैँ रिस उठ्थ्यो । गाडी कहाँ पुगिसकेको हुन्थ्यो । त्यसैले त्यो गाडीतिर फर्किएर सत्तोसराप गरेर काम चलाउँथे । म के नै गर्न सक्थेँ र ? जहाँ उभिएको हुन्थेँ त्यहीँ मुर्मुरिएर उभिएको उभियै हुन्थेँ ।

हाइस्कूल पढ्ने हुँदा मेरा लागि एउटा साइकलको व्यवस्था भो । साइलक देखेर म दङ्ग । स्कूल म साइकलमा आउजाउ गर्न थालेँ । आफ्नै तालमा, सुसेल्दै मूल सडकमा समेत चलाउँदै हिँड्थेँ । शुरु शुरुमा अनावश्यक ठाउँमा किर्लिङ्ग किर्लिङ्ग घण्टी बजाउँदै हिँड्थे । पैदल हिँडिरहेका मान्छेहरुलाई अनावश्यक ध्वनी आतंकको माहौल बनाइदिँदै । म नयाँ नयाँ जोगी, खूब घस्थेँ खरानी । वास्तविकतामा साइकिल, सपनामा साइकिल, दूध लिन जा साइकिल, तरकारी किन्न जा साइकिल, मेरो प्रिय साथी भएर निस्कियो साइकिल ।

अनि आफूले पाउने आतंक पनि कम कहाँ थियो र ? कति गाडीहरुले ठक्कर देला झैँ लाग्थ्यो । बाल बाल धेरै पटक ज्यान जोगिएको थियो । उनीहरु स्पीडमा हुन्थे । उनीहरुको हर्न सुनेर साइकल छेउ लाउँदा लाउन नपाउँदै छेवैमा आइसकेका हुन्थे । घटेको स्पीडको गाडीको झोँकमा उनीहरु मुख छाड्दै अघि लाग्थे । उनीहरुका अभद्र र सहिनसक्नु गाली चुपचाप पचाउनु मेरो अर्को विवशता भयो ।

उस्तै साइज देखिएतापनि रफ्तारका आधारमा कम देखिने साइकलवालाहरुलाई मोटरसाइकलवालाहरु हेप्ने गर्थे, ‘साइड दिनुपर्दैन ।’ साइकल भन्दा मोटरसाइकल बलियो हुन्छ । र बलियो हुन्थ्यो, साइकलवाला भन्दा मोटरसाइकलवाला पनि—मलाई यस्तो लाग्थ्यो । त्यसैले कहिल्यै जोरी खोजिनँ । मैले पाखुरा सुर्किन नपाउँदै उनीहरुले सडकलाई पछिल्तिर ठेलेर कहाँ पु¥याइदिसकेका हुन्थे । मेरो रफ्तार गम खान्थ्यो ।

कोही कोही अलिक बढी सन्काहा छन् भने भन्थे, ‘मर्न मन लाग्या हो ?’ म साइकल चलाइरहेको हुन्थे एउटा कुनोमा आठ इञ्चीको धर्सोजति बाटो लिँदै । तर त्यत्रो विशाल सडकमा त्यति बाटो पाउनपनि मुश्किल । मेरो साइकलमा गियर थिएन । उकालोमा डो¥योँउथेँ । उकालोमा पेटीहीन सडकमा गाडीको घनत्व बढ्ता हुँदा, मैले प्रयोग गरेको आठ इञ्ची बाटोका कारण ब्रेक लगाउनु परेकोमा मोटरबाइकवाला मतिर हेरेर आँखा तथ्र्यो र दाह्रा किट्थ्यो ।

व्यस्त सडकमा बाइकहरु अत्याधिक जाम भएको बेला सडकले नपुगेर त्यसको पेटी पेटी हुँदै घोडा चढेँझैँ बाइक चढाउँदै अघि बढ्थे । आमाको दूधले नपुगेर बाबुको घुँडो चुस्ने प्रवृत्ती देखाउँदै । साइकल चलाउने भएर पनि मैले आमाकै दूध चुसिरहेँ । बाबुको घुँडो चुस्ने धृष्टता मैले गर्न सकिनँ ।

कठै ! आफ्नै सुरमा एउटा सानो कुनो समातेर गन्तव्यतर्फ सुस्तरी हिँडिरहेको साइकललाई तिनीहरुले किन हेपेको होला ? म सोचिरहेको हुन्थेँ ।

समय पनि बदलियो । साइकलको रफ्तारले दगुरिरहेको मलाई जमानासँग तालमेल मिलाउन गाह्रो भो । मलाई धेरै अघि बढ्नु थियो । थोरै समयमा धेरै ठाउँ पुग्नु थियो । हतारो थियो । तर मलाई थाहा थिएन यो हतारो के के हो ? मेरो व्यस्तता बढेको थियो । तर के को ? कहाँ पुग्नु छ मलाई ? के गर्र्नु छ मलाई ? के भेट्टाउनु छ ? अथवा के ले लखेटिरहेछ ? मलाई आफैँलाई थाहा थिएन । मानौँ कुनै श्पर्धा गर्न आँटिरहेछु । दुखसुख, सरसापटी गरेर एउटा मोटरसाइकल जोडियो । मोटरसाइकल जोडिनेबितकै साइकलसँगको बलियो नाता चटक्कै तोडियो ।

मेरो पनि रफ्तार बदलियो । ढङ्ग बदलियो । रङ्ग बदलियो । म अब साइकलवाला रहिनँ । मेरो बढुवा भएको थियो । म मोटरसाइकलवाला भएको थिएँ । मेरो आफ्नै रफ्तार भयो । हिजो आठ इञ्ची सडकको त्यान्द्रो पाउन संघर्ष गर्थेँ । अब मेरा संघर्ष बाह्र इञ्ची सडकसँग हुने भो । संघर्ष नै गर्नुपरेपछि अलिक ठूलो कुरासँग गर्नु परोस् न ! हिजो साइकलले मलाई तान्थ्यो कि मैले साइकल तान्थे थाहा थिएन, आज म ढुक्कसाथ भन्न सक्छु कि मोटरसाइकलको इन्जीनले मलाई सहजतापूर्वक तानिरहेको छ ।

म एउटा रफ्तारमा हुन्थेँ । रफ्तारसँगै मेरो हतार बढेको थियो । मानौँ हरदिन म कुनै अपराध गरेर भागिरहेछु, कसैले भेट्ला भन्ने त्राहीका साथ । मजस्तै दुब्लो पातलो मान्छे साइकल चलाएर सडकमा हिँडिरहेको हुन्थ्यो । मैले पछिल्तिरबाट बजाएको हर्न नसुनेर ऊ मलाई साइड दिँदैनथ्यो । मलाई अनावश्यक ब्रेकको प्रयोग गर्नुपरेकामा रिस उठ्थ्यो । मेरो गतिमा बाधक बन्न आउने, चाहे साइकलवाला हुन्, चाहे पैदल यात्री सबैसँग रिस उठ्न थाल्यो । म यस्ताको छेउमा पुगेर ‘आँखा छैन ?’ वा ‘मर्न मन लाग्या हो ?’ भनेर हपार्दै आफ्नो गति पक्रिन्थेँ ।

भयानक जाममा पर्दा एकै ठाउँमा अड्किरहन मलाई पनि मन लाग्दैनथ्यो । लुसुलुसु स्याना स्याना च्यापहरु छिराउँदै लैजान थालेँ । आमाको दूधले नपुग्ने नै भयो । बाबुको घुँडो मलाई पनि चाहियो । त्यस्तै ठाउँहरुमा ट्राफिकको आँखा छलेर पेटी पेटी बाइक कुदाउन थालेँ । ट्राफिक नियम पालना गर्नुसँग कुनै सरोकार थिएन । सरोकार थियो त केवल ट्राफिकको उपस्थिति र त्यसलाई छल्ने ध्याउन्न ।

समस्या यतिखेर पनि थियो । कहिलेकाहीँ जाममा अगाडी ठूलो गाडी रोकिएको हुन्थ्यो । बाइक टसमस गर्न नपाइनेगरी थुनिन्थ्यो । त्यतिबेला गाडीहरुदेखि भरमार रिस उठ्थ्यो । उनीहरु पानी पर्दा पनि निस्फिक्री गाडीभित्रै गीत सुनेर बस्थे । मलाई औडाहा हुन्थ्यो । उनीहरु चर्को घाममा पनि एसि खोलेर सीतल माहौलमा गाडी चलाइरहेका हुन्थे । ईष्र्या लाग्थ्यो । म एउटा ठूलो गाडीको पछिल्तिर छुँ र पिल्सिएको छु भन्ने ठान्थेँ । म ठान्दिनथेँ त्यत्रो जाममा मेरा पछिल्तिर अझै थुप्रै गाडीहरु छन् भनेर । मजस्तै बाइकवालाहरु प्नि पछिपछिसम्म छन् भनेर मलाई ख्याल गर्ने फुर्सद नै भएन । हरेक मान्छेको आआफ्नो किसिमको व्यस्तता छ भन्ने मैले कहिल्यै बुझ्न चाहिनँ । मलाई आफ्नोमात्र ख्याल भयो ।

समय अझै बद्लियो । मपनि फेरिपनि अलिकति उक्लिएँ ।

आजभोली मपनि कहिलेकाँही गाडी चलाउँछु । अहिले मेरा पीडाहरु आफ्नै ठाउँमा छन् । जेब्रा क्रशिङ्ग पाँच दश पाइला अगाडी हुँदा हुँदैपनि अनावश्यक ठाउँमा दगुर्दै मान्छेहरु बाटो काटिदिन्छन् । घ्याच्च ब्रेक लगाएर गाडी उठाउनुपर्दा म हैरान हुन्छु । गलत साइडबाट पनि मोटरसाइकलहरु ओभरटेक गर्दिन्छन् । सडक सधैँ व्यस्त हुन्छ । गाडी अगाडी बढाउँ भन्छु र अलिकति बढाउन खोज्छु, कता कताबाट हो पाँचवटा मोटरसाइकल छिरिदिएर त्यो ठाउँ ओगटिदिन्छन् । हर्न बजायो नसुनेझैँ गर्छन् । फेरि बजाउँछु, वास्तै गर्दिदैनन् । कति बाइकले गाडीको पछिल्तिरको बम्पट तोडेर फरार भएका छन् । साइकलहरु गल्ली गल्ली छिराएर गन्तव्यमा पुगिछाड्छन् । बाइकहरु पेटी पेटी कुदाएर पनि अघि बढाउँछन् । तर सबैभन्दा धेरै जाम खेप्नुपर्ने गाडी नै हो ।

आफ्नो ठाउँमा हरेक मान्छेलाई आफू सही लाग्दोरहेछ । तर पनि समस्या आफैँमा ज्यादा हुन्छ । लुखुरलुखुर पैदल हिँड्दा पछाडीबाट मोटरसाइकल वा गाडीहरुले दिएको हर्न नसुन्दा वा स्पीडमा आइरहेको गाडीलाई उछिनेर सडक क्रश गर्दा पनि मैले गल्ती गरेको मान्न सकिनँ । हिजो साइकलै चलाउँदा पनि अनावश्य घण्टी बजाउँदै हिँड्दा गरेको बदमासी, बद्मासी जस्तो लाग्दैनथ्यो । पेटीबाटै मोटरसाइकल कुदाउँदा पनि गलत गरिनँ जस्तो लाग्थ्यो । गाडी चलाउँदा म बाटो काट्ने मान्छे, ओभरटेक गर्ने मोटरसाइकल र साइड नदिने ट्रकहरुमा बढी दोष देख्छु । म आफैँलाई दोष कहिल्यै दिन्नँ ।

र मेरो सबैभन्दा ठूलो दोष पनि यहि हो कि मैले आफैँमा कहिल्यै दोष देखिनँ ।

 

  • लोकप्रिय लेखक सुबिन भट्टराईका कथाकी पात्र, समर लभ, साया, मनसुन, प्रिय सुफी प्रकाशित छन् |