अन्तिम समयमा माओवादीको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं- बुधबार बोलाइएको नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । मन्त्रीहरूको टुंगो लगाउने भन्दै बोलाइएको बैठक एकाएक स्थगित गरिएको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बैठक स्थगित गरिएको बताइएको छ । प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।