अन्तबाट बसाइँ सराई गरेर आउनेलाई ३० हजार भत्ता - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

अन्तबाट बसाइँ सराई गरेर आउनेलाई ३० हजार भत्ता



नवलपरासी । बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता ।

बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो ।

सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि गाउँसभाबाट पारित गरेर अन्य स्थानीय तहबाट बस्न आउनेलाई भत्ता दिने व्यवस्था लागू गरिएको गाउँपालिकाका अध्यक्ष गाउँँपालिका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए ।

‘जग्गाधनी पुर्जा भएकाहरूसमेत खेतबारी बाँझै राखेर अन्यत्र बसाइँ गएपछि जनघनत्व घटयो, बस्ती रित्तिँदै गयो,’ उनले भने, ‘यस्तो उपाय अपनाउन बाध्य भयौं ।’

उनले सबै वडाध्यक्षको सल्लाहमा यस्तो निर्णय लिएको जनकारी गराए । ‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं,’ उनले भने । गाउँपालिकाको आम्दानी बढदै गए भत्ता पनि बढाउँदै लैजाने योजना रहेको गाउँपालिका प्रमुख राना मगरले सुनाए ।

पहाडमा सुविधा नभएका कारण गाउँ छाडेर हिँड्ने र बस्ती रित्तो हुने खतरा देखेपछि यस्तो निर्णय भएको हो । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन ।

गाउँमा बस्न कोही मान्दैमान्दैन,’ उनले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं. २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ ।

त्यस्तै बौदीकाली–१ मिथुकरम र बौदीकाली–३ रकुवामा बसाइँसरी आउनेलाई पनि प्रतिपरिवार ३०-३० हजारका दरले प्रोत्साहन भत्ता दिइनेछ । कान्तिपुर दैनिकबाट