अंशु सापकोटा: छैठौँ पटकमा कोरोना मुक्त भईन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अंशु सापकोटा: छैठौँ पटकमा कोरोना मुक्त भईन



काठमाडौं- बागलुङकी पहिलो तथा नेपालको पाँचौँ कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटाले पनि कोरोनालाई जितेकी छिन् । उनको शुक्रबार छैटाैँपटकको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

बाग्लुङ नगरपालिका– ४ कुँडुलेकी सापकोटाको यसअघि लगातार चौथोपटकसम्मको रिपोर्ट पोजेटिभ देखिएको थियो । बिहीबार पाँचौँपटकको परीक्षणमा भने नेगेटिभ देखिएको थियो । पाँचौँपटकको रिपोर्ट नेगेटिभ आएसँगै त्यसको २४ घन्टाभित्रै पुनः छैटाैँपटकको परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएकोमा उक्त रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

‘अंशुको पाँचौँपटकको रिपोर्ट नेगेटिभ आएसँगै हामीले पुनः छैटाैँपटक पनि उहाँको स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउयौँ,’ गुरौले भने, ‘यो पनि नेगेटिभ आएको छ । जिल्लाका लागि यो गुड न्युज हो ।’ उनले बाग्लुङ कोरोना संक्रमितबाट मुक्त भएको बताए ।

गत १५ चैतमा अंशुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात् उनको धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । यद्यपि उपचारको क्रममा उनमा कुनै समस्या नदेखिएको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए ।

२८ दिन अस्पतालको बसाइपछि घर फर्किएकी उनलाई अझै केही दिन होम क्यारेन्टाइनमै बस्न आग्रह गरिएको पनि पोखरेलले बताए ।