अन्नपूर्ण पोस्टका प्रधानसम्पादक थापाले दिए राजीनामा : लामो समयदेखि तलब नदिएको आरोप

काठमाडौँ- नेपालको ठुलो संचार घराना मध्यको एक अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। पत्रकार र कर्मचारीहरुलाई लामो समयदेखि तलव नदिएको भन्दै उनले राजिनामा दिएको एक पत्रकारले बताए ।
कम्पनि व्यबस्थापनले लामो समयदेखि तलब दिन आनाकानी गरिरहेको र हाल कोरोनाको त्रास देखाएर भएका सबै सेवा सुविधा समेत नदिएको आरोप व्यबस्थापनमाथि लागेको छ ।
पत्रकार र कर्मचारीको लामो समयको तलव दिन नमानेको भन्दै प्रधानसम्पादक थापाले बुधबार राजिनामा दिएका हुन् । उनले अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई राजीनामा बुझाएका छन् ।
थापाले कर्मचारी र पत्रकारको तलव रोक्न नहुने अडान राख्दै आएका थिए । लामो समयदेखि तलवकै बिषयले प्रधानसम्पादक र अध्यक्षबीच टसल भएको थियो ।
जिल्लाका पत्रकार र कर्मचारीहरुको फागुनदेखिको तलब अन्नपूर्णले अहिलेसम्म दिएको छैन भने केन्द्रका पत्रकार र कर्मचारीहरुको चैतदेखिको तलब दिएको छैन।
प्रधानसम्पादक थापाले पत्रकार तथा कर्मचारीहरुको रोकिएको तलब अहिले पूरा दिन नसके पनि आंशिक तलब दिन र पछि बाँकी तलब दिनेगरी सहमति गर्न अडान लिएको बुझिएको छ । तर पनि व्यवस्थापनले यसलाई खासै चासो नदिएको कारण थापाले राजीनामा दिएका हुन् ।

