प्लाज्मा दान गर्दै शर्माले भने: आफू संक्रमित भएकोमा अहिले खुसी भएँ
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता अनिल शर्माले कोरोना संक्रमण पनि आफैँमा एउटा औषधि भएको बताएका छन् । आफू संक्रमणमुक्त भएपछि कोरोना उपचाररत बिरामीलाई प्लाज्मा दान दिँदै उनले यस्तो बताएका हुन् ।
आइतबार शर्माले शिक्षण अस्पतालमा कोभिड–१९ सँग लडिरहेका सर्लाही हरिपुर–१ का गोपाल साहलाई प्लाज्मा दान दिएका हुन् । शाहलगायत ३ जना बिरामीलाई पुग्नेगरी प्लाज्मा दान गरेको शर्माले बताएका छन् ।
नेकपाका काठमाडौं निर्वाचन क्षेत्र नं–१ का इन्चार्ज समेत रहेका शर्मा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खटिएकै समयमा आफू संक्रमित भएका थिए । स्वास्थ्यमा जटिल समस्या नदेखिएरै शर्मा संक्रमणमुक्त भएका थिए ।
नेता शर्माले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमै पुगेर त्यहाँ उपचाररत बिरामी साहलाई प्लाज्मा दान दिएका थिए । प्लाज्मा दान गर्न पाउँदा उनले आफू संक्रमित भएकोमा पहिलो पटक खुसी महसुस गरेको बताएका छन् । शर्माले शाहसहित थप दुई जनालाई समेत पुग्नेगरी बी पोजेटिभ प्लाज्मा दान गरेको बताएका छन् ।
सामाजिक संजाल मार्फत उनले बी पोजेटिभ प्लाज्मा कसैलाई आवस्यक परेको खण्डमा शिक्षण अस्पतालमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
कार्तिक महिनाको सुरुवाततिर कोरोना संक्रमण देखिएका शर्मा तीन सातापछि कोरोनामुक्त भएका थिए ।
![](https://himalpost.com/wp-content/uploads/2020/12/anil.png)