...अनि म नभेटी फर्किए ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

…अनि म नभेटी फर्किए !



-दीपक घिमिरे

एकै छिन पोहोर सालका कुरा गरम !

एक्कासि काठमाडौँ जाने योजना बनेस् सबैभन्दा खुसी त त्यो कुरामा भएको थिए कि मैले उसलाई भेट्न पाउनेछु । लगभग एक वर्ष देखीको च्याटे लभ अनि फोनको गफ ले म उसलाई भेट्न आतुर थिए । काठमाडौँ जाने काम अर्कै थियो तर मलाई हतारो अर्कै थियो । कतिबेला पुगु , कति बेला भेटु भएको थियो त्यो बेला ।

त्यो भेटको बयान यति बेला नगरुम । किनकि त्यो भेटको बयान यति बेला गर्न थाल्ने हो भने एउटा कथा संग्रहनै तयार हुनेछ । तपाईँहरूलाई हाम्रो लभस्टोरी पढ्न अल्छी लाग्न सक्छ । यति बेला म यो पटकको कथा सुनाउँछु ।

अब यो पटकको कुरा गरम !

यो पटक एक्कासि काठमाडौँ जाने योजना बनेन । धेरै लामो पर्खाई पछि बन्यो । भोलि जान्छु , पर्सि जान्छु गर्दा गर्दै एक दिन काठमाडौँ जाने दिन आयो अनि म निस्किए ।

काठमाण्डौमा भएका भुपु मायालुहरूलाई म आउदैछु भन्ने खबर पुगोस भनेर एउटा सानो स्टाटस पोष्टीए फेसबुकमा । फेसबुकको स्टाटसले म काठमाडौँ आउँदै गरेको थाहा पाएर उनैले म्यासेज गरिन जस्लाइ भेट्न म पोहोर साल आतुर थिए । हतारिदै भेट्न पुगेको थिए सिविल मल ।

यो पटक उसलाई भेट्ने कुनै योजना थिएन किनकि हाम्रो डिभोर्स भैसकेको थियो । अझ माया गरेर प्रेमको भाषामा भन्ने हो भने हाम्रो ब्रेक-अप भैसकेको थियो ।

उसले च्याटमा सोधेकी थिई ” मलाई भेट्न कहिले आउछस ? “

मैले सजिलै भने ” नाई ! अब तँलाई भेट्न आउँदिन । “

उ निराश भएकी थिई या खुसी ! त्यो उ आफै बुझेकी होली तर म कता कता चाहन्थे कि उ मलाई कर गरोस् , भेटुम प्लिज भनेर आग्रह गरोस् । म सायद घमण्डि थिए , त्यसैले म भाउ खोज्दै थिए । तर उ मलाई फकाउन चाहिन । बरु अफ भएर कतै हराई ।

मैले बारम्बार उ अनलाइन भए नभएको हेरिरहे । उ अनलाइन आउँथी तर नबोली बस्थी । म घमण्डी थिए , मैले बोलाउने कुरै भएन ।

म काठमाडौँ पुगेको देखाउन बारम्बार फेसबुकमा अपडेट भैरहे । कहिले फोटोहरू पोष्टिए त कहिले स्टाटस अपडेट गरिरहे । तर उसले एउटा लाईक सम्म ठोक्न कन्जुस्याई गरी । अब चैँ लाग्यो , उ साच्चिकै टाढा भई म बाट ।

एक वर्ष अघि सम्म प्रेममा दिवाना बनेको हाम्रो जोडी आखिर किन यसरी टाढियो ? आखिर कहाँ निर के गल्ती भयो अनि हामी बिच चिसो पस्यो ? एक छिन यसको समीक्षा गरौँ !

उ भद्र छे । थोरै बोल्ने अनि चाहिदो मात्र बोल्ने । तर म ठिक उल्टो छु । म भद्रपनमा बस्नै सक्दैन । जिस्किन अनि जिस्काउन पाएसी मेरा दिन सजिलै कटछन ।

उ जिस्केका कुरामा मन दुखाउछे । म चैँ जिस्काउन छाड्दिन । यस्तै प्रक्रिया एक वर्ष सम्म चलेपछि अस्ति हाम्रो मन मुटाव चल्यो । अनि सुरु भयो ब्रेक-अपको प्रक्रिया ।

उसलाई मैले बारम्बार भनेको एउटा कुरा के हो भने म फेरिन सक्दैन । उ मलाई फेर्न चाहन्छे तर म सक्दैन । म सानै देखि यस्तै छु भने आज आएर कसरी फेरिनु ? हावा तालको म उसको आगमन सँगै कसरी भद्र भलादमी बन्नु ?

तर उ मलाई फेर्न चाहन्थी । सिकाउथी , रिसाउँथी अनि थर्काउथी । म बाल दिँदैनथे , आफ्नै पारामा ल्याङ ल्याङ गरिरहन्थे । अनि उ रिसाउँदा फकाउथे , सरी भनेर सम्झाउथे ।

सधैँ जसो फेरि पनि मैले उसलाई जिस्काईदिए , उसलाई पचेन । मैले आफूलाई सुधार्न नसकेकोमा गल्ती महसुस गरे । अनि सोचे ! अब टाढा भैदिन्छु ।

उ काम पर्दा गफिने , नत्र आफ्नै दुनियाँमा मस्त रहने केटी थिई । सुस्त सुस्त म पनि टाढा हुँदै गए , उसले थाहै नपाउने गरी ।

एकै पटक काठमाडौँ आउँदा पनि नभेटी फर्किँदा मात्र उसले महसुस गरी होला कि साँच्चै हामी अलग भएछौ भनेर ।

रिस र घमण्डले उ बाट टाढा भएको नाटक मैले गरे । तर उसले मलाई फकाउन आवश्यक ठानिन । उसले फकाउन आवश्यक नठानेपछि मैले पनि उसलाई भेट्न आवश्यक ठानिन ।

म उ सँग जति नै टाढा भागेपनी मन उ सँग हुन्थ्यो । हामी कस्तो खालको प्रेममा छौ त्यो म आफै बुझ्दैनथे । निस्स्वार्थ मायामा थियौ सायद हामीहरू । तर सानो कुरालाई हाँसो मजाकमा उडाएर मित्रतामा बाधिनुको साटो चित्त देखाउनु उसको बानीकै कारण आज उसलाई भेट्नु आवश्यक ठानेन र फर्किए ।

उ भन्थी ” तेरा हरेक शब्द बाण झैँ बिझ्छन् तर पनि म तँलाई मिस गर्छु ! “

सायद म गलत थिए । किनकि मेरा हरेक शब्दले उसलाई पीडा दिँदो रहेछ । उसले त्यस्तो भन्दा पनि म प्रेम देख्दथे अनि पछि लाग्थे उसकै अनि जिस्काउदै भन्थे ” आइ लभ यु यार ! “

उ बिना च्याट खल्लो लाग्दथ्यो , उ बिना कथा फोर्दैनथे । उ कुन रूपमा हेर्थी थाहा भएन , तर म उसलाई मनमा सजाउँथे अनि मुटु भित्र घर बनाएर बसालेको थिए ।

उसलाई नभेटी फर्किँदा पक्कै पनि म खुसी छैन । काठमाडौँ पुग्दा एउटा महत्त्वपूर्ण काम उसलाई भेट्नु हुन्थ्यो होला सायद तर यो पटक भएन । एक्लै घुमे , एक्लै रमाउने प्रयास गरे तर सकिन ।

उसलाई फोन गरेर भेटौँ भन्न मन नभएको पनि होइन । तर म भित्रको घमण्ड अनि उसले देखाएको फुस्सा भलादमीपनाले मलाई उ प्रति नजिक हुन दिएन ।

उ सँगको प्रेममा पर्दा म आफूलाई संसारकै भाग्यमानी पुरुष ठानेको थिए । र आज उ सँगको प्रेममा डिभोर्स हुँदा पनि म आफूलाई त्यत्तिकै भाग्यमानी ठानेको छु ।

म चाहँदैन कि उ अब मेरो जीवनमा कहिले नभित्रीयोस , चाहन्छु कि फेरि उस्तै माया पिरती होस । प्रेममा मस्त रहन पाईयोस । हाम्रो जोडी पनि लैला-मजनु या जोधा-अकबर भन्दा कम नहोस् । तर कोही झुकेर या कोही दबेर प्रेममा फस्न नपरोस ।

म जो छु यसैमा उसले मलाई स्विकार्न सकोस् । उसले मलाई बदलेर मेरो नजिक हुने सपना नदेखोस । किन कि म यस्तै छु । उसका लागि म बदलिन सक्दैन ।