बल्ल बोले पत्रकार महासंघ अध्यक्ष: आन्दोलन गर्ने चेतावनी !
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले फौजदारी संहिताभित्र रहेका केही दफा र प्रावधानका कारण पत्रकारहरु समाचार लेखेकै भरमा जुनसुकै बेला जेल जानुपर्ने अवस्था भएकोले यसलाई सच्याउनको लागि आफूहरुले सरकारसँग माग गरेको स्पष्ट पारेका छन् ।
उनले भने, “मुलुकी ऐन आएको एक वर्षसम्म तपाईहरुले के हेर्नुभएको थियो ? पनि भनेर हामीलाई अहिले प्रश्नहरु तेर्साउने काम भएको छ । देउवा सरकारले ल्याएको कानुन भएकोले विरोध नगरिएको भन्ने आरोप हामीमा लागेको छ । हामीले त सुरुदेखि नै विरोध जनाएका थियौं । ठूला तीन दलका प्रमुख नेताहरुले आश्वासन दिएकोले विश्वासमा बसेका थियौं ।”
कानुनको मस्यौदाकार रहेका सांसदद्वय राधेश्याम अधिकारी र रामनारायण विडारीसँग आफूहरुले साउनमै छलफल गरेको सुनाउँदै अध्यक्ष आचार्यले भने, “हामीले सरोकारवालाहरुसँग छलफल गरेकै हो । उहाँहरुले पनि प्रेसलाई कुण्ठित गर्दैनौं भन्नुभएको थियो ।”
भदौ १ गतेबाट कार्यान्वयनमा आएको नयाँ मुलुकी ऐनका दफा २१ देखि ३०६ सम्म १०० वटा दफा तथा उपदफाहरु प्रेसमाथि खतरा रहने खालका रहेको उनले सुनाए ।
उनले भने, “एउटा विद्युतीय कारोबार ऐनको एउटा दफाले त अहिलेसम्म ११ सयमाथि मुद्दा चल्यो । तीमध्ये ८३ जना त पत्रकारमाथि मुद्दा परेको थियो । अहिले यत्रा १०० वटा दफाहरु प्रेस विरोधी छन् । यसले त पत्रकारहरु जतिबेलापनि जेल जाने खतरा छ ।”
नयाँ कानुनले प्रेसलाई कुण्ठित गरेको विरोधमा महासंघले शुक्रबार दिउसो साढे २ बजे नयाँ बानेश्वरमा सरकारविरुद्ध सांकेतिक विरोध जुलुश निकाल्ने पनि उनले जनाए ।
आचार्यले थपे, “हामी भोलि आफ्नो सामाग्रीहरु कलम, क्यामेरालगायत लिएर विरोधमा उत्रिन्छौं ।” पत्रकारले समाचार लेखेकै भरमा फौजदारी मुद्दा चलाउने कुरा कानुनमा उल्लेख भएकोले आफूहरुको यसमा गम्भिर आपत्ति रहेको आचार्यले पूनः दोहोर्याए ।
उनले भने, “समाचार लेखेर गल्ती गर्नेहरुलाई जरिबाना गर्नुपर्छ । फौजदारी मुद्दा लगाएर जेल हाल्ने कुरा गम्भिर आपत्तिजनक छ । यसलाई संशोधन गर्नुपर्छ ।”