अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक पाउँथे चिरञ्जीवी - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक पाउँथे चिरञ्जीवी



एक समय दक्षिण भारतका फिल्म स्टार चिरञ्जीवीको स्टारडम यस्तो थियो कि उनले भारतीय दिग्गज अभिनेता अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक पाउँथे। अमिताभको एउटा फिल्मको पारिश्रमिक एक करोड भारु हुँदा चिरञ्जीवी डेढ करोड लिन्थे।

उनै फिल्म स्टार तथा राजनीतिज्ञ चिरञ्जीवी आजबाट ६३ वर्ष लागेका छन्। २२ अगस्ट १९५५ जन्मिएका उनको रुचि बालापनदेखि नै अभिनयमा थियो। उनी तेलुगु सिनेमाका एक मात्र यस्ता अभिनेता हुन्, जसको एकल, डबल र ट्रिपल रोलका फिल्महरुले सय दिनसम्म बक्स-अफिसमा व्यापार गरेको कीर्तिमान बनाएका छन्।

चिरञ्जीवी दक्षिण भारतीय फिल्म उद्योगका पहिलो यस्ता स्टार हुन्, जसलाई सन् १९८७ मा ओस्कार एकेडेमीले आफ्नो अवार्ड समारोहमा आमन्त्रित गरेको थियो । उनी साउथ फिल्मफेयर अवार्डबाट १० पटक सम्मानित भइसकेका छन् ।

चिरञ्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो। उनकी आमालाई छोराको नाम परिवर्तन गर्ने सल्लाह दिएपछि उनको नाम चिरञ्जीवी राखियो । फिल्म क्षेत्रमा नाम कमाएपछि उनी सन् २००८ मा राजनीतिमा प्रवेश गरेका थिए । उनले स्थापना गरेको प्रजा राज्यम पार्टी केही समयपछि कांग्रेसमा विलय भएको थियो । उनी मन्त्री समेत बनेका थिए । उनले भारत सरकारको प्रतिष्ठित अवार्ड पद्मभूषण पनि पाएका छन् ।

चिरञ्जीवी शीर्ष भूमिकामा रहेको पछिल्लो फिल्म ‘शंकर दादा जिन्दावाद’ (२००७) हो । जसले औसत प्रतिक्रिया पाएको थियो । त्यसयता राजनीतिक करिअरमा लागेपछि उनी फिल्ममा शीर्ष भूमिकामा देखिएका छन् । बरु उनका छोरा रामचरणले तेलुगु फिल्म उद्योगमा प्रभावशाली अभिनेताका रुपमा उनको रिक्ता पूरा गरिरहेका छन् । चिरञ्जीवीले विगत एक दशकमा रामचरण अभिनीति ‘मागाधीरा’ (२००९) र ‘ब्रुस ली- द फाइटर’ मा छोटो भूमिकामा काम गरेका थिए। – एजेन्सी