अमिताभ बच्चनले गरे नेपाल सरकार र उज्ज्वल थापाको प्रशंसा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अमिताभ बच्चनले गरे नेपाल सरकार र उज्ज्वल थापाको प्रशंसा



काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितका लागि नयाँ कानुन ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेका छन्। अभियन्ता उज्जवल थापाको प्रशंसा गर्दै बच्चनले सामाजिक संजालमा लेखेका छन्।

बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरे। एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन्।

‘धेरै धेरै बधाई…यो राम्रो काम जारी राख्नु,’ बच्चनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। थापाले उत्तराखण्डको सो शेरवुड कलेजमा पढेका थिए।

एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायतका काममा थापाले केहि वर्षदेखि निरन्तर सहयोग गर्दैै आएका छन्।

यस्ता आक्रमणमा संलग्न दोषिलाई कारवाही र पीडितलाई आर्थिक, कानुनी, शैक्षिक, सामाजिक लगायत सहयोग सुनिश्चित गर्न उनले अभियान गर्दै आएका थिए।

बच्चनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन्। साथै थापालाई बधाई दिँदै यो कार्यका लागि गर्व गरेका छन्।

यसअघि वीरगंजकी एसिड पीडित मुस्कान खातुनलाई अमिताभले भिडियो सन्देश पठाएर हौसला प्रदान गरेका थिए।

पछिल्लो समय सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जना पीडितसँग केही दिनअघि बालुवाटारमा छलफल गरेर पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने निर्णय सुनाएका थिए।

यसका निम्ति १५ दिनभित्र मस्यौदा तयार गर्न उनले कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्ने व्यवस्था सहितको कानुन निर्माण गर्ने निर्णय सुनाएका हुन्।

प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले ब्यहोर्ने गर्ने घोषणा गरे।