भारतीय गृहमन्त्रीलाई प्रचण्ड-माधवले सोधे स्पष्टिकरण
काठमाडौँ- भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेकपाको दाहाल–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै भारतीय गृहमन्त्री शाहबाट विषयवस्तु स्पष्ट हुनुपर्ने माग राखेका छन् ।
‘सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनु भएका विप्लव देवले उहाँहरुसँगको छलफलमा तत्कालीन जनता पार्टीका अध्यक्ष एवं भारतका गृहमन्त्री अमित शाहले नेपाललगयातका देशहरुमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्ति दिनुभएको थियो ।
हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिको गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ’, प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ, ‘नेकपा यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरुबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार अमित शाहबाटसमेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ ।’
त्रिपुराका मुख्यमन्त्री देवले गृहमन्त्री शाहलाई उद्धृत गर्दै नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको सरकार बनाउने योजना रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए । देवको अभिव्यक्तिलाई लिएर सरकारले पनि असन्तुष्टि जनाएको छ ।